बालबालिकाहरुको स्वास्थ्य र विद्यालय

balbalika
मनोज मिश्र
बालबालिकहरु कुनै पनि राष्ट्रको अमूल्य निधि मानिन्छ । यिनै बच्चाहरु देशका भविष्य हुन्छन् । तर देशको भविष्यलाई निर्धारण गर्ने बच्चाहरु कतै कुपोषणका शिकार भइरहेका छन् भने कतै फुलजस्ता कोमल यी बच्चाहरुलाई विद्यालयको अस्वच्छ वातावरणमा हुर्किनु परेको छ । फलस्वरुप खेल्नेखाने उमेरमा यी बच्चाहरुलाई रोगव्याधिको शिकार हुनु परिरहेको छ । जसले गर्दा यिनको बाल मस्तिष्कमा प्रतिकूल प्रभाव पर्ने गर्दछ । अशिक्षित परिवारका बच्चाहरुलाई हेलचक्रयाइँको सर्वाधिक मारमा पर्नु परिरहेको छ । जसले उनीहरुको स्वास्थ्यस्थितिमा गलत प्रभाव पर्ने गर्दछ । प्रसिद्ध शिक्षाशास्त्री हरवर्ट स्पेन्सरले भनेको छ –“कुनै पनि राष्ट्रको स्वास्थ्य उसको सम्पदाभन्दा पनि महत्वपूर्ण हुन्छ ।” स्वास्थ्य बच्चाको समग्र विकासको सूचक हुन्छ । यसले बालकको विद्यालयमा उपस्थिति, नामाङ्कन र पढाइ पुरा गर्ने क्षमतालाई प्रभावित गर्दछ । बच्चालाई आफ्नो स्वभाव, खानपीन, शारिरीक, मानसिक र सामाजिक स्वास्थ्यले उनीहरुलाई यस्तो रोगको चपेटामा पार्ने गर्दछ जसको प्रभाव प्रायः विद्यार्थी जीवनमा हुनु हुँदैन । आज ससाना बालबालिकाहरुमा तनाव, अवसाद, नेत्ररोग, कुपोषण, मोटोपन आदि रोगहरु हुनु भनेको गहिरो चिन्ताको विषय बनेको छ । हिजोआज शिक्षाविद्हरुले बालबालिकाहरुलाई शारिरीकरुपले सबल र मानसिकरुपले स्वस्थ बनाउने कुरामा जोड दिँदैआएका छन् । यदि बच्चा स्वस्थ छन् भने उनको स्वाभावअनुरुप रुचिपूर्ण, गुणवत्तामा आधारित शिक्षा पाइरहेका छन् भने उनी निश्चितरुपले शनैः शनैः प्रगतिको पथमा अग्रसर हुनेछन् ।
म्हान दार्शनिक अरस्तुको भनाइ छ,–“स्वस्थ शरिरमा नै स्वस्थ मस्तिष्क निवास गर्दछ ।” साँच्चिकै बालबालिकाको उचित शिक्षाका लागि उनको स्वच्छता र स्वास्थ्यलाई महत्वपूर्ण तथा आवश्यक मानिएको छ । स्वच्छ र स्वस्थ बच्चाको विकास सहज र स्वाभाविक ढंगले हुने गर्दछ । बच्चाको उचित स्वास्थ्यका लागि विद्यालय, शिक्षक तथा बाआमाको सकारात्मक भूमिकाको आवश्यकता अपेक्षित हुन्छ ।
स्वस्थ बच्चाका लागि विद्यालयको स्वच्छतालाई आवश्यक मानिन्छ । हाम्रो देशमा अधिकांश प्राथमिक विद्यालयहरुको स्वच्छता अवस्था सन्तोषजनक मान्न सकिँदैन । फोहोरमैलाको डंगुरले भरिएको विद्यालयको तस्बीरले कसको मन दुख्दैन र ? फोहोरमैलाले भरिएका विद्यालयहरुको अव्यवस्थित र अवैज्ञानिक संरचनाले गर्दा ती विद्यालय हुन् कि रोगशाला भन्ने छुट्याउन कठिन हुन्छ ।
तसर्थ बच्चाहरुको स्वास्थ्यलाई हेरचार गर्न अभिभावकहरुलाई सचेत हुनुपर्दछ । र, उपयुक्त विद्यालयमा बच्चाहरुको पठनपाठनको व्यवस्था गर्नुपर्दछ । अथवा लेखपढ गर्ने विद्यालयलाई व्यवस्थापन गर्न अभिभावकीय भूमिका निर्वाह गर्नु पर्दछ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *