Tuesday, December 11, 2018
Home > सामाज > कठै ! कोठी बेपत्ता पो भए

कठै ! कोठी बेपत्ता पो भए


गोपाल बराल /महोत्तरी


महोत्तरी जिल्लासहितका मधेसका गाउँबस्तीमा अब माटाका कोठी (भकारी) देखिन छोडेका छन् । चामल, गहुँ, चना(बदाम) र रहरलगायतका घुन (अन्नबाली खाने किरा) चाँडै लाग्ने खाद्यान्न जोगाएर भण्डारण गर्न बनाइने माटाका कोठी अब गाउँघरमा देखिन छाडेका हुन् ।
अन्नपात भण्डारणका लागि घरघरमै बनाइने गरिएका माटाका कोठीका ठाउँमा अब प्लाष्टिकका डोल, बाल्टिन र अन्य भाँडाको प्रयोग बढेपछि कोठी निर्माण हुन छाडेको छ । ब्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल घट्दै आएपछि घरमा भित्रिने फसलको मात्रासमेत कम भएर कोठी बन्न छाडेको ग्रामीण किसान बताउँछन् । अब उत्पादित फसल प्लाष्टिकका भाँडामै अटाउने भएपछि कोठी बन्ने र बनाउने क्रम सकिएको सिङ्ग्याही–८ का किसान जीवछ चौधरी थारुको भनाइ छ । जग्गाको खण्डिकरण हुँदै गएर निजी स्वामित्वको जग्गाको क्षेत्रफल घट्दै गएपछि माटाका कलात्मक कोठी देखिन छाडेका किसानहरु बताउँछन् । मिथिलाक्षेत्रमा र खासगरी थारु महिलामा कलाकौशलको हिसाबलेसमेत माटाको कोठी निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले हुन छाडेको थारु कलाका जानकारहरुको भनाइ छ ।
मिथिलाक्षेत्रका थारुबस्तीमा माटाका कोठी बनाउने सीप वैवाहिक सम्बन्धका लागि कन्याको बिशेष योग्यताकै रुपमा हेरिने गरेको विगत सम्झँदै प्राध्यापन पेशामा रहनुभएका जिल्लाकै हरिहरपुरहरिनमरी–९ का महेशकुमार चौधरीले पछिल्लो पुस्ताका थारु युवतीले कोठी निर्माणमा अरुचि देखाउन थालेपछि अब नयाँ कोठी बन्न छाडेको जानकारी दिनुभयो । माटाका कोठी बनाउने प्रचलन खासगरी थारु बस्तीमा देखिने हुँदा ती समूहका किशोरी र युवा महिलाको यसमा रुचि कम भएकाले नै यस्ता कोठी अब देखिन छाडेका हतिसर्वा–२ का बासिन्दा शिक्षण पेशाबाट अवकास लिनुभएका ७२ वर्षीय बिष्णुनारायण राय थारुको ठम्याई छ । मुलुकको तराईक्षेत्रमा थारु महिलाकै सामीप्यले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिकेका यसक्षेत्रका बुढापाका बताउँछन् । विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा नै हुने गरेको कुरा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको उहाँहरुको भनाइ छ ।
महिनांै लगाएर तयार भएको कलात्मक कोठी हेर्न बस्तीका निकै महिला जम्मा हुने गरेको विगत सम्झँदै भङ्गाहा–३ थारुटोल बस्तीकी ६० वर्षीया पारोवति थारुले त्यसको सार्वजनिक टिकाटिप्पणी हुँदा धेरै रमाइलो हुने गरेको बताउनुभयो । विगतमा तराईमा विग्घौंविग्घा जग्गाका मालिक हुँदा एउटै घरमा प्रशस्त गहुँ, चना, रहरलगायतका फसल हुने र चामल पनि निकै थन्क्याउनु पर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन रहेको बुझिन्छ । तर पछिल्ला वर्षहरुमा जग्गाको स्वामित्व घट्दै गएर केही कठ्ठा वा विग्घाको स्वामित्व बाँकी रहेपछि कोठीको आवश्यकता महसुस हुन छाडेको सिङ्ग्याही–२ का ८० वर्षीय विपिनविहारी साह बताउनुहुन्छ । पछिल्ला दिनहरुमा प्रत्येक बजारमा छ्यास्छयास्ती प्लाष्टिकका भाँडा पाइन थालेपछि धेरै मिहिनेत लाग्ने कोठी निर्माण हुन छाडेको तराईका किसान बताउछन् । जग्गाको स्वामित्व साघुँरिदै गएको र एउटा घरमा उत्पादन हुने बाली प्लाष्टिक र टिन (च्यादर,जस्ता) का भाँडामै अँटाउन थालेकाले मिहिनेतपूर्वक बनाइने कोठी निर्माणको परम्परा छुट्दै गएको मैथिल गृहिणी जिल्लाकै सुदुर दक्षिणी बस्ती पर्सापतैलीको चौडिया गाउँकी दानादेबी नेपाली (तिवारी) को भनाइ छ । यता मिथिला कला र संस्कृतिका जानकारले भने परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान हुने भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउन पर्ने बताएका छन् । माटोको कोठीमा बिषादी नमिसाई खाद्यान्न सुरक्षित हुने भएकाले स्वच्छ र स्वस्थ खानेकुराको रक्षाका लागि कोठी अहिले पनि अनिवार्य देखिएको जिल्लाकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक ध्रुब रायले बताउनुभयो ।
माटोका कोठीमा राखिएका फसल बर्षौबर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वास्थ्यकर हुने पाका स्वास्थ्यकर्मीहरुको भनाइ छ । पछिल्ला दिनमा माटाका कोठीको निर्माण हुन छाडेपछि फसल घुनबाट बचाउन विषादीको प्रयोग हुन थालेको र त्यसको असरले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै गएको वर्दिबास अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी राधेश्याम झाले चिन्ता व्यक्त गर्नुभयो । यसैबीच महोत्तरी जिल्लाका केही गैरसरकारी संस्थाहरुले मिथिलाको पुरानो माटोका कोठी बनाउने कला मर्न नदिन नयाँ पुस्तालाई तालिमसँगै अभिप्रेरित गर्न लागिएको बताएका छन् । मिथिला पहिचानको एउटा हिस्सा रहेको माटोका कोठी बनाउने कुरामा नयाँ पुस्ताका युवतीलाई चाख जगाउन आफ्नो संस्थाले तालिम आयोजन गर्न लागेको जिल्ला सदरमुकाम जलेश्वरस्थित महेन्द्र आदर्श महिला उच्च माध्यमिक बिद्यालयकी शिक्षकसमेत रहनु भएकी जन जागृति समाज पर्सापतैली महोत्तरीकी अध्यक्ष नायडू नेपालीले जानकारी दिनुभयो ।

%d bloggers like this: