Wednesday, February 21, 2018
Home > विचार/अन्तर्वार्ता > शैतानलाई रोजिए अमरत्वको अपेक्षा गर्न सकिँदैन : आचार्य वीरेन्द्र

शैतानलाई रोजिए अमरत्वको अपेक्षा गर्न सकिँदैन : आचार्य वीरेन्द्र

Acharya Birendra
विश्व वैदिक सनातन उपचार महासभाका अन्तर्राष्ट्रिय अध्यक्ष एवं विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय सचिव आचार्य वीरेन्द्र प्रख्यात ज्योतिषी हुनुहुन्छ । प्रखर, प्रभावशाली र प्रकाण्ड विद्वान आचार्य वीरेन्द्र हिजोआज नेपाललाई हिन्दू अधिराज्य बनाउने अभियानका निर्भिक, अविचलित र अडिग अभियन्ता हुनुहुन्छ । सञ्चारकले उहाँसँग ज्योतिष विज्ञानका गुह्य कुराहरुका अतिरिक्त हिन्दूत्वसँग जोडिएको अभियानबारे कुराकानी गरेको थियो । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप ।
आर्चायजी, भनिन्छ भविष्यका कुराहरु अनिश्चित छन् । तर पनि ज्योतिषशास्त्रको महत्व कम भएको छैन । कतै यो शास्त्रको सम्बन्ध पनि आस्था र विश्वाससँग जोडिएको मात्र त होइन ?
हेर्नुस वरपीपलको वृक्ष सानो कनिकाभित्र लुकेको हुन्छ । अनन्त ब्रहामण्डको बीऊ पनि यति सुक्ष्म छन् जसलाई ज्ञान र शब्दले अभिव्यक्त गर्न सकिँदैन । हाम्रो जीवनमा पनि हेर्यौं भने दुई कुरा स्पष्ट देखिन्छन् । एउटा आँखाले देखिने दुनियाँ र अर्को आँखाले देख्न नसकिने दुनियाँ । आँखालाई देखिने दुनियाँलाई विज्ञान भनिन्छ भने आँखाले नदेखिने दुनियाँलाई आस्था भनिन्छ । उदाहरणका लागि लिनसक्छौं, आमाको वात्सल्य र उनीप्रति सन्ततीको इश्वरतुल्य आस्थाको अभिव्यक्ति । हाम्रै शरिरमा कपाल र नङ्ग्रा अचेतनरुपमा देखिन्छन्, यसलाई काट्दा पनि दुख्दैन । तर यी हाम्रो चेतन शरिबाट उब्जिएका होइनन् र ? यसले स्पष्ट हुन्छ कि अनन्त ब्रहमाण्डको आत्मा चेतनस्वरुप परमात्मा हुन्छ । उनै विराट पुरुषको प्रकाशमय अभिव्यक्ति नै अखिल ब्रह्माण्ड हो । एउटा सुत्र छ, ‘भाग्यम् हि फलतिं सर्वत्र् नचधनं नचबलं नचपौरुषम् ।’ यसलाई यसरी लिन सकिन्छ कि हामी तास खेल्ने गर्छौं । कुनै बेला कमजोर पत्ती भएका व्यक्तिले प्याक हुका लागि विवश गरिदिन्छ । अब मलाई तास खेल्न पनि आउँछ र पत्ती पनि ठूलो छ तर बाजी हार्नुपर्यो । कारण के त ? यो बाजी हार्नुपर्ने नै थियो । यस्ता लाखौं करोडौं मान्छेलाई हामी भेट्न सक्छौं । जोहरु जन्न्मजात अन्धा छन्, लुलालङ्डा छन्, बहिरा र असक्त छन् । यसको पछाडि कोलाई हामी दोषी ठान्छौं । उनीहरुले त नराम्रा कर्म गरेका होइनन् तर पनि दुःख भोग्न विवश छन् । यसलाई एस नालः पश्य तपसाफलम भनिन्छ वा जन्मजन्मान्तरको कर्मको प्रतिफल । यसलाई बुझ्नु पर्दा महाभारतकालको एउटा कथालाई सांकेतिकरुपमा लिन सकिन्छ । भगवान श्रीकृष्ण कर्मयोगका प्रचारक थिए । एक दिन उनकी फुफु देवी कुन्तीले भनिन् कि हे कृष्ण, मेरो छोरो युधिष्ठिर गुरुकूलका सर्वश्रेष्ठ छात्र छन् र उनी सत्यका प्रतिमूर्ति छन् । भीमजस्ता शक्तिशाली र अर्जनजस्ता धनुषधारी कोही छैनन् तर पनि उनीहरु वनमा भौंतारिएका छन् । कुकर्मी र कुपात्र दुर्योधन राज्यवैभवलाई भोगिरहेका छन् । के मेरा छोराहरुले कर्म गरेका होइनन् र ? यसले स्पष्ट हुन्छ, भाग्यमा लेखिएको भए मात्रै धेरै कुरा प्राप्त हुन्छन् । यहाँ कर्मलाई उपेक्षा गरिएको होइन । हामीले गरेका कर्मको प्रतिफल अवश्यमेव मिल्छ । सद्कर्म गर्यौं भने तिनै सद्कर्म पछि गएर सौभाग्यमा परिणत हुन्छ । ज्योतिषशास्त्रको उपादेयता यहाँ छ कि यस शास्त्रलाई वेदको आँखा भनिन्छ । भावी जीवन अज्ञात छ । त्यसलाई ज्योतिर्विज्ञानरुपी दिपकको माध्यमले मात्रै भविष्यका बाटाहरुलाई पहिल्याउन सकिन्छ । अन्यथा संसारमा यस्तो कुनै विज्ञान छैन जसले भविष्यका बारेमा जानकारी गराउन सक्छ ।
त्यसो भए ज्योतिषशास्त्र विज्ञान नै हो त ?
हो, ज्योतिषशात्र मात्रै विज्ञान होइन । ज्ञान र विज्ञानको उचाइँको पराकाष्ठा हो । जस्तै यसको माध्यमबाट हाम्रो जीवनको भविष्यलाई छर्लङ हेर्न त सकिन्छ नै साथै आउने समस्यारुपी सिँहका अगाडि पार गर्न नै नसकिने विशाल पर्खाल लगाउन सकिन्छ ।
यतिको शक्तिशाली कुरो हामीसँग हुँदाहुँदै पनि मानिसहरु किन दुःख, पीडा र सास्ती भोगिरहेका छन् ? किन उनीहरुले आफ्नो परत्र सुधार्न सकेका छैनन् त ?
यो विश्व बह्माण्ड तीन गुण–सत्व, रज र तमबाट बनेको छ । जब पानीमा रज र तम गुणको प्रभाव बढ्न जान्छ तब उनमा विभिन्न प्रकारका तृष्णा र त्यसबाट जनित दुःखहरु आइपर्छन् । अब एउटा डाक्टरलाई थाहा छ कि जाँडरक्सी र चुरोट खाएँ भने बिरामी पर्छु र चाडै मर्छु तर पनि उनी यसबाट मुक्त सकेको हुँदैन । ज्योतिषशास्त्रले ठिक यसैगरी छर्लङ उज्यालो देखाए पनि अब स्वाभाववश अमृत छोडेर विषलाई रोज्यौं भने दुःख त भोग्नु पर्छ नै ।
देश वा व्यक्तिका जीवनमा धेरै दूर्घटनाहरु भइरहेका छन् । यसबारे पूर्वसूचना दिने ल्याकत ज्योतिषशास्त्रसँग छ । कतै यो पनि अनुमान गरेर मौसमको भविष्यवाणी गर्ने हाम्रा पूर्खाहरुको सीपजस्तो त होइन ?
संसार परिवर्तनशील छ । कुनै व्यक्ति होस वा समाज । त्यसमा अनेक प्रकारका उतारचढाव आउन सक्छन् । हाम्रो जीवन नै अनन्त यात्रा हो । यस यात्रामा हामीलाई कुशलतापूर्वक चतुर्थ पुरुषार्थहरु धर्म अर्थ काम मोक्षः लाई प्राप्त गर्नुछ । सधैँ राम्रा घटना मात्र हुँदैनन् नराम्रा घटना पनि हुन सक्छन् । हरेक सम्भावित घटनाका बारेमा ज्योतिषशास्त्रबाट जानकारी प्राप्त गर्न सकिन्छ । हाम्रा पूर्वज ऋषिमहर्षिहरुले हजारौं हजार वर्षसम्म अध्यय्न अनुसन्धान गरेर ल्याएका यस महान उपलब्धिलाई हामीले आत्मसात गरेर सदुपयोग गर्न सक्यौं भने हाम्रा लागि सौभाग्यशाली सिद्ध हुनेछ नत्र भने हिरामोती रत्नहरु जडिएका गरगहना आफूसँग भए पनि त्यसलाई श्रृंङारको रुपमा प्रयोग नगरिए ढुकुटीमा थन्किने बेफाइदाजनक स्थिति हुन्छ । फेरि भन्नुहोला, पश्चिमा जगतमा त ज्योतिषलाई त्यतिमात्रामा उपयोग गरिँदैन तर आर्थिक सम्पन्नता छ । हाम्रो समाजमा त्याग र तपस्याको ठूलो महत्व छ । भगवान गौतम बुद्धले अकुत वैभवलाई त्यागेर जगको कल्याणको निम्ति साधारण जीवनचर्यालाई रोज्नुभएको थियो । जेनतेन प्रकारले मात्रै भौतिक विकास गर्नुको अपेक्षा सदकर्मद्वारा एक असल मानव भएर आफूसमेत सबैको कल्याण गर्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा प्रबल रहेको हुँदा समग्ररुपमा भौतिक र अध्यात्मिक उत्कृष्टता वा प्रबलतालाई नै हामी कहाँ बढी सार्थक बुझिन्छ ।
नेपालमा चिना र हातका रेखा हेरेर भविष्य बताउनेहरु थुप्रा छन् । के ती जम्मै तपाईंले भने जस्तो ज्योतिषशास्त्रका साधक हुन् त ?
निसन्देह, ज्योतिषशास्त्रको ज्ञान विज्ञानका अमृत आनन्दलाई जीवनमा उतार्न सकियो भने आफ्नो सुःख, सौभाग्य र कल्याणको प्राप्ति गरिएला नै तर हरेक क्षेत्रमा त्यसको असल साधकहरुद्वारा नै लाभ प्राप्त गर्न सकिन्छ अन्यथा श्रम, समय आदि धेरै कुराको सदुपयोग गर्न पाइएको हुँदैन । भविष्यमा कुनै व्यक्तिलाई कस्तो रोग होला भन्ने कुरा थाहा पाएर पहिलेका वैधहरुले पनि ज्योतिषशास्त्र अध्य्यन गर्ने गर्थे । प्राकृतिक आपदाहरु क्ुन कुन बेलामा आउन सक्छन् भन्ने कुरा थाहा पाएर त्यसबाट बाँच्ने अनेकौं उपायहरु गर्ने गर्थे । जीवनमा आफ्नो लक्ष्यमा कसरी कुशलतापूर्वक सहजरुपमा जान सकिन्छ भन्ने कुरा कुनै विद्वान ज्योतिषीको परामर्शले थाहा पाउन सकिन्छ ।
सामान्य व्यक्तिले भविष्यवेत्ता विद्वान ज्योतिषी वा लठ्ठक मूर्खबीचको भेदलाई कसरी पहिल्याउन सक्छन् ?
अँध्यारो र उज्यालोलाई सर्वसाधारणले सजिलै छुट्याउन सक्छन् । भगवानको सट्टामा शैतानलाई रोजेमा अमरत्वको अपेक्षा गरे पनि मृत्यु नै प्राप्त हुन्छ ।
तपाई हिजोआज हिन्दूवादी अभियानमा लाग्नु भएको छ । कतै यो कार्य पनि ज्योतिषशास्त्रकै प्रेरणाले त होइन ?
जब हाम्रो हृदयमा प्रेम, दया, करुणा, उज्यालो, विश्वबन्धुत्व, सर्वकल्याणको भावना जाग्छ त्यतिबेला हाम्रो हृदयमा सर्वव्यापी अविनाशी सत्चित्त आनन्दस्वरुप परमात्माको बास भएको अनुभूति हुन्छ । तर जब हामीभित्र काम, क्रोध, लोभ, मद्यमत्सरुपी शैतानको प्रभाव मनमा पर्छ तब आफ्नो स्वार्थ जाग्छ र अर्कालाई दुःख दिने भावना आउँछ । हामी मानवभित्र विराट परमात्माको साक्षीभाव अंश आत्माको बास भएको हुँदा बसुदैव कुटुम्बकमको भाव लिएर प्राणीमात्रको कल्याणको निमित्त आफ्नो जीवनलाई समर्पित गरिरहनुपर्छ । यसै क्रममा मान जातिलाई नै परम कल्याण तुल्याइदिने कल्पवृक्षसरी हाम्रो सनातन सँस्कृतिको अमृतमय आनन्द र दिव्यप्रकाशले सबै प्राणीहरुका हृदय प्रकाशित होउन भन्ने भावनाले सेवाको पथमा अग्रसर भएको छु । यसैलाई भगवानको सेवा पनि ठानेको छु ।
तर तपाईंहरुले त धर्मको राजनीति गरिरहनुभएको छ हिन्दूत्वको नाउँमा । देशलाई नै हिन्दू अधिराज्य बनाउने अभियान थालेर ?
संसारमा चौहत्तरभन्दा बढी क्रिश्चियनका छन् भने ५४ भन्दा बढी देश मुसलमानका छन् । दुई अर्बभन्दा बढी हिन्दूहरुको आस्थाको केन्द्र सनातन सँस्कृतिको जरो नेपाल राष्ट्र परापूर्व कालदेखि हिन्दू राष्ट्र छ भन्ने कुरामा दुई मत हुनसक्छ र ? अब राजनीतिका नाउँमा बारम्बार विभिन्न प्रकारका लोभलालच दिएर धर्मान्तरण गराउनु कुनै पनि प्रकारले मानवोचित कार्य हुनक्छ ? यसो त पशुले पनि गर्दैन । हामीले हाम्रो सनातन सँस्कृतिमा सृष्टिका हरेक दैवीय स्वरुपलाई इश्वर भनेर पूजा गरेका हौं । जसरी आफ्नै आमालाई हामीले सम्मान गर्ने गर्छौ त्यसै गरी नै हरेक धर्मलाई हामीले सम्मान गर्ने गरेका हौं । यदि अखिल मानव जातिलाई नै ज्ञान विज्ञानको पाठ पढाउने वैदिक सनातन सँस्कृतिलाई अवमूल्यन हुने गरी कसैले राजनीति गर्छ भने त्यो घोर अपराध हुनसक्छ । र, यही अपराध केही लोभी आफ्ना भनाउँदाहरुले र आफ्नै धर्मको अन्धतामा लिप्त केही पराया भनाउँदाहरुले गरेका छन् । पशुपक्षी, कीटफटयांग्रादेखि लिएर जडचेतनसमेतमा आफ्नो प्रभुको छवि दर्शन गर्ने सनातन सँस्कृतिको दिव्यज्ञान र चेतनारुपी आलोकबाट सम्पूर्ण जगतलाई सुःख शान्तिपूर्वक बाँच्नका निमित्त प्रेरणा दिन्छ यस सनातन सँस्कृतिले र विश्वयुद्ध गरेर सम्पूर्ण जगतलाई नै वीभत्स र दुःखी तुल्याउने विभिन्न समुदायहरुको मनको मयललाई मेटाइदिएर सुःख शान्ति प्रदान गरिदिने एउटै मात्र बाटो सनातन सँस्कृतिको छाँयामा चिरआनन्द अनुभूत गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: