Wednesday, August 22, 2018
Home > समाचार > पुस १ को दोषी जानकी मन्दिरका महन्थ : प्रतिवेदन

पुस १ को दोषी जानकी मन्दिरका महन्थ : प्रतिवेदन

bhandari

सञ्चारक
राष्ट्रपति विद्या भण्डारीको जनकपुर भ्रमणको क्रममा भएको प्रहरी दमनको दोषी जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भएको ठहर एउटा छानबिन प्रतिवेदनले गरेको छ । रामजानकी विवाहोत्सवमा सरिक हुन राष्ट्रपति भण्डारीको गत पुस १ गतेको जनकपुर भ्रमणको क्रममा उत्पन्न तनाव, मन्दिरभित्र तोडफोड र त्यसपछि मन्दिर शुद्धिकरण गर्ने घटनाबारे छानबिन गर्नका लागि आन्दोलरत शक्तिद्वारा गठित नागरिक छानबिन समितिले महन्थ दासलाई ती सम्पूर्ण घटनाक्रमका दोषी ठहर गरेको हो ।
राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणका बारेमा जानकार हुँदाहुँदै मन्दिरका महन्थ दासले आन्दोलनकारीहरुलाई ढाँटेको र भ्रमित गरिरहेको आरोप लगाइएको सो प्रतिवेदनमा आफ्नो पद जोगाउन मुठभेड हुनसक्ने संवेदनशीलतालाई ख्याल नगरी महन्थ दासले राष्ट्रपति भ्रमणको चाँजोपाँजो मिलाएको दोषारोपण गरिएको छ । मन्दिरका महन्थका रुपमा विवादास्पद कार्य गर्दैआएको भनी आलोचित हुँदैआएका महन्थ दासमाथि आन्दोलनकारी जनमतले लगाएको यस आरोपलाई अत्यन्त गम्भीरतापूर्वक लिइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा जिल्ला संयोजक शेषनारायण यादवको संयोजकत्वमा गठित छानबिन समितिले पुस १ गतेको घटनाका लागि सरकार र स्थानीय प्रशासनसमेत दोषी रहेको औंल्याएको छ । आन्दोलनको दौरान प्रतिकार हुने सम्भावनालाई नजरअन्दाज गर्दै राष्ट्रपतिको भ्रमण तय गर्ने सरकार र मन्दिरभित्र निषेधित क्षेत्रमा जुत्ताचप्पलको प्रवेश तथा मन्दिरको गर्भगृहसम्म कुकुरलाई भित्र्याउने कामलाई रोक्न नसकेकोमा स्थानीय प्रशासन दोषी भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले मन्दिरमा प्रदर्शनकारीको नाउँमा तोडफोड भएको घटनालाई आपराधिक कार्यको संज्ञा दिँदै ती गतिविधिलाई नियन्त्रण गर्न परिचालित सुरक्षाकर्मी र पत्रकारको नियत खोटो नभएको पनि प्रष्ट पारेको छ । राष्ट्रपतिको भ्रमणपछि तेस्रो दिन मन्दिरलाई शस्ुद्धिकरण गरिएको घटनालाई अतिश्योक्तिपूर्ण तरिकाले प्रस्तुत गरिएको भन्दै शुद्धिकरण कार्य विवाहपञ्चमी मेलापश्चात गरिने नियमित प्रक्रिया भएको प्रतिवेदनमा जनाइएको छ । मन्दिरभित्र कुकुर र जुत्ताचप्पल लगिएकाले गंगाजल छर्केर पवित्र बनाइएको प्रतिवेदनको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: