Sunday, February 18, 2018
Home > सामाज > जुँगाको लडाइँमा बच्चाबुच्चीको मिचाइँ

जुँगाको लडाइँमा बच्चाबुच्चीको मिचाइँ

राजकरण महतो

बर्दिवास, महोत्तरी
विद्यालय व्यवस्थान समिति गठन नहँुदा महोत्तरीको रामगोपालपुर ७ कञ्चनपुरस्थित जनता प्राविको पठनपाठन अस्तव्यस्त बनेको छ । व्यवस्थान समितिको अभावमा गत दुई बर्षदेखि विद्यालयमा शिक्षण क्रियाकलाप प्रभावित हँुदैआएको छ । हास्रोन्मुख शैक्षिक क्रियाकलापले गर्दा यस विद्यालयमा अध्य्यनरत दुईसय दलित बालबालिकाहरुको भविष्य अन्यौलमा छ ।
समितिका अध्यक्षमा कसलाई चयन गर्ने विषयमा दुई पक्षबीच विवाद उत्पन्न हुँदा विद्यालयले ७ पटक बोलाएको अभिभावक भेलाबाट पनि विद्यालय व्यवस्थापन समिति चयन हुन नसकेको विद्यालयका शिक्षक दिनकर यादवले बताए ।
बाँतर, माझीलगायत दलितहरुको बसोबास भएको यस बस्तीका दुईसय विद्यार्थी पढ्ने जनता प्रावि कञ्चनपुरमा जम्मा ४ वटा कक्षा कोठा छन् । जहाँ कक्षा चार र पाँचमा अध्य्यनरत विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाइन्छ । त्यसैगरी एक र दुई कक्षामा पढ्ने विद्यार्थीहरुलाई पनि एउटै कक्षामा खाँदेरै पढाउँदै आइएको छ । शिशु र कक्षा तीनका विद्यार्थीहरुलाई अलगअलग कोठामा पढाइन्छ । विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयले शिक्षा कार्यालयमा थप भवनको माग गर्न नसकेको विद्यालयका प्रधानाध्यापक हिरालाल यादवले बताए । विद्यालयका व्यवस्थापन समितका अध्यक्ष मुकुन्द मररको कार्यकाल सकिएको दुई वर्ष भइसकेको छ ।

sc
पाठ्यक्रम विकास केन्द्रले तहअनुसारका पाठ्यक्रम तयार गरेर लागु गरेको छ । तर बालबालिकाहरुले फरकफरक पाठ्यक्रमको अध्य्यन एउटै कक्षामा बसेर पढ्दै आएका छन् । एउटा शिक्षकले एकैपटकमा कसरी फरक फरक पाठयक्रमका आधारमा पढाउन सकिन्छ भनेर त्यस विद्यालयका शिक्षकहरुले ्प्रश्न गर्छन् । उनीहरुको भनाइ छ,‘ हाम्रो विद्यालयले विद्यालय व्यवस्थापन समिति पाउन नसक्दा विद्यालयले शिक्षा कार्यालयको मापदण्ड पुरा गर्न सकेको छैन । जसले गर्दा शिक्षा कार्यालयबाट पाइने सबै सेवासुविधा कटौती हुँदैआएको छ । जिल्लामा सेवासुविधा माग गर्न पुग्दा शिक्षा कार्यालयका अधिकारीहरुले समितिका बारेमा प्रश्न गर्छन् ।’ विद्यालय व्यवस्थान समिति भएका विद्यालयलाई मात्र शिक्षा कार्यालयबाट सेवासुविधा दिइने प्रवधान रहेको उनीहरु बताउँछन् ।
विद्यालयको कार्यालय भवन घरगोदामभन्दा फरक छैन । जीर्ण घरमा रहेको अफिसमा एउटा टेबुल छ । जहाँ हाजिरी रजिष्टर र चकडस्टर राख्ने गरिन्छ । शिक्षकहरु बरण्डामा बस्छन् । विद्यालयमा खानेपानीको पनि अभाव छ ।
विद्यालय व्यवस्थान समिति नहुँदा महोत्तरीकै उच्च मावि बसविटट्ी बसन्तपुरमा शिक्षक नियुक्त गर्न सकिएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनारायण लाल कर्णको अवधि समाप्त भएपछि फेरि अर्को समिति समयमै चयन गर्न नसकिएपछि निमावि र प्रावि गरी दुई तहमा तीन पिसिएफ शिक्षकको नियुक्ति हुन नसकेको विद्यालयका प्राध्यानाध्यापक हर्षनारायण झाले बताए । उनले भने,‘ कात्तिकमा विद्यालय व्यवस्थापन समितिको म्याद सकियो । नयाँ समिति गठन गर्न सकिएको छैन । शिक्षकको नियुक्तिमा समितिको पनि सहभागिता चाहिन्छ । तर समिति नै छैन । विद्यालय व्यवस्थान समिति नहँुदा शिक्षक नियुक्त गर्न सकिएको छैन ।’ विद्यालयमा बन्दै गरेको भवनको निर्माण कार्य अघि बढाउन पनि व्यवस्थापन समितिकै कारण समस्या भएको प्रअ झाले बताए ।
१५ महिनापछि विद्यालय व्यवस्थापन समिति गठन हँुदा विद्यालय सुधारको क्रममा
विद्यालयमा १५ महिनासम्म विद्यालय व्यवस्थापन समिति नहँुदा विद्यालय विकास र शिक्षण क्रियाकलाप प्रभावित भएको दुखेसो सुनाउँछन् महोत्तरीको रामगोपालपुर ६ मा रहेको महेन्द्र राष्ट्रिय उच्च माविका पूर्वप्राचार्य देवनारायण सिंह । उनी भन्छन्,‘ धेरै पहिले विद्यालयमा भौतिक विकासका लागि विद्यालयले पठाएको चिठ्ठी ओझेलमा प¥यो । ताकेता गर्ने कोही नभएपछि विद्यालयमा आउने विकास योजनाहरु आएनन् ।’ समिति बनेपछि ६ महिनाअघि ५ लाखको भौतिक पुनर्निर्माण र ३ लाख मर्मतसम्भारका योजना ल्याउन सफल भएको पूर्व प्रअ सिंहले बताए ।
विद्यालय व्यवस्थापन समिति गठन भएपछि तीनवटा पिसिएफ कोटा पनि आएको महेन्द्र राष्ट्रिय उच्च मावि रामगोपालपुरका विद्यालय व्यवस्थापन समितिले बताएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदुलार साहको कार्यकाल समाप्त भएपछि विद्यालयलाई समिति गठन गर्न १५ महिना लाग्यो । जँुगाकै लडाइँले समिति चयन गर्न समस्या हँुदैआएको अभिभावकहरुले बताएका छन् । पछि हिरालाल मण्डलको अध्यक्षतामा महेन्द्र राष्ट्रिय उच्च मावि रामगोपालपुरले विद्यालय व्यवसथपन समिति पायो । समिति नहँुदा विद्यालयमा पढाइ भएको वा नभएको रेखदेख गर्ने समुदायका अभिभावकहरु कोही पनि थिएनन् । अर्थात विद्यालय व्यवस्थापनमा समुदायको प्रतिनिधित्व थिएन ।
जहाँ विद्यालय व्यवस्थापन समिति क्रियाशील हँुदा बनेको स्कूल
विद्यालय व्यवस्थापन समिति क्रियाशील हुँदा महोत्तरीको वर्दिबानगरपालिका ४ गौरीडाँडास्थित जनता मावि निकै राम्रो स्कूल बन्दै गइरहेको छ । उक्त विद्यालयमा बोर्डिङ्ग जस्तै पढाई हुने मधेशकै नमूना स्कूलमध्येको एक स्कूल हो । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अँग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ । पछिल्लो समय विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर रम्तेलले बताए ।
२०६८ साल मंसिरमा गठित विद्यालय व्यवस्थापन समितिमा राजन ढुङ्गाना आएपछि विद्यालयको मुहार निरन्तर फेरिने क्रममा छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा पूर्वाधार, स्रोतसाधन जुटाइदिने, गुणस्तर सुधार र विद्यार्थी बढ्नसक्ने वातावरण बनाइदिएपछि विद्यालयको पठनपाठनमा सुधार हुँदैगएको छ । विद्यालयलका शिक्षक शिक्षिकाहरुले निकै मेहनत गरेर अध्यापन गराइरहेका छन् ।

School1
विद्यालय सुधारका लागि समुदायको व्यापक परिचालन गरी विभिन्न निकायसंग समन्वय गरेर विद्यालयमा पूर्वधार विकासका कामहरु भइरहेका छन् । २०६८ सालयता आन्तरिक स्रोेतबाट क्रमिकरुपमा १२ जना दक्ष शिक्षकहरु गरेर पठनपाठन पठनपाठनमा थप सुधार ल्याइएको हो । विद्यालय सुधारका लागि विद्यालयले दैनिक डायरी टिपोट, विद्यार्थीको नियमित उपस्थितिीका लागि टेलिफोन अभियान सञ्चालनमा ल्याएको छ ।
अभिभावक र विद्यालयबीचको सम्बन्ध नजिक बनाई शिक्षण क्रियाकलापमा सुधार ल्याउन टेलिफोन अभियान सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले बताए । उनले भने,‘ कुनै पनि बालबालिकाहरु गुणस्तरीय शिक्षाबाट वञ्चित नहोस् भन्ने अभिप्रायले विद्यालयमा विद्यार्थी अनुपस्थित भएमा उनीहरुका अभिभावकलाई दैनिकरुपमै फोन गरेर विद्यार्थी किन आएन भन्ने कुरा को उत्तर खोज्ने र समस्या समाधान गर्ने कार्य विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले गर्दै आएका छन् ।’ गरिब , दलित, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु बढी अनुपस्थित हुनेगरेको बताउँदै अध्यक्ष ढुङ्गानाले फोनइन कार्यक्रमले विद्यालय , अभिभावक र समुदायबीचको सम्बन्ध बलियो भई पठनपाठनमा सुधार भइरहेको बताए ।
दैनिक कक्षा कोठामा शिक्षकहरुले हाजिरी गराएर अनुपस्थित विद्यार्थीको नामसहितको लिष्ट विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर रम्तेलको चेम्बरमा सम्बन्धि कक्षाका शिक्षक शिक्षिकाहरुले पठाउने गरेका छन् । प्रधानाध्यापक रम्तेलले पहिलो घण्टीकै समयमा दैनिक करिब एकघण्टासम्म बच्चा किन विद्यालय आएनन् भन्ने कुराको खोजिनीति टेलिफोनमार्फत् गर्दैआएका छन् ।
विद्यालयमा कक्षा ९ र १० मा प्राविधिक तथा व्यावसायिक शिक्षा धारअन्तर्गत पशु विज्ञानको पढाई गराउँदै आएको छ । यसै आर्थिक वर्षबाट विद्यालयले डिप्लोपमा तहमा तीन वर्षे पशुविज्ञानको शिक्षण सुरु गरेको छ । विद्यालयमा कम्पयुटर शिक्षा, प्रोजेक्टरबाट पढाई गराइएको छ । यस विद्यालयमा ७ सयभन्दा बढी विद्यार्थी अध्य्यनरत रहेका छन् ।

‘हामीले विद्यार्थी पढ्न सक्ने वातावरण निमार्ण गरिदिनु पर्छ । त्यसमा शिक्षकहरु विद्यार्थीहरुमा सहयोगिको भूमिका निर्वाह गरि दिनु पर्छ ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष ढुङ्गानाले भने,‘ सरकारले सामुदायिक विद्यालयमा लागानी गरि दिनु पर्छ ।’ सरकारले पूर्व प्राथमिक तहमा विशेष योजना ल्याई काम गर्न सक्नुपर्ने बताउँदै अध्यक्ष ढुङ्गानाले त्यसको व्यवस्थापनको जिम्मा आमा समूहलाई दिनुपर्ने बताए ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीका स्रोतव्यक्ति दिपक बरालले समुदायले सामुदायिक विद्यालय राम्रोसंग व्यवस्थापन गरिदिने हो भने विद्यालयहरु साँचिकै विद्यालय बन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: