Wednesday, February 21, 2018
Home > सामाज > यसरी बेथरीमा मारिए निर्दोष मधेशीहरु

यसरी बेथरीमा मारिए निर्दोष मधेशीहरु

रामविकास चौधरी
भैरहवा ।
त्यो साँझ गाउँमा विरलै चुल्हो जलेको थियो । त्यो पनि बालकका लागि भोक मेटाउन मात्र । आवेग र उन्मादमा रहेका प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट पुरै बजार रगतका टाटाहरुले पोतिएको थियो । मृत्युको मातम, थप अनिष्टको भय र दmुखद आगतको सन्त्रासबाट गाउँमा बेचैनी छाएको थियो । गाउँभरि मधेशीप्रति लक्षित प्रहरीका अपशब्दसँगै पीडितहरुको चित्कार र क्रन्दनमात्र सुनिन्थ्यो ।
सडकभन्दा निकै तल नदी छेउमा रहेको तरकारी बजारमा दर्जनौं ढालिएका थिए । प्रहरीले चलाएको गोली लागेर चारवर्षे बालक दश वर्षीया बालिकासहित चारले घटनास्थलमै छटपटिएर सदाका लागि संसारबाट विदा लिइसकेका थिए । दर्जनांै जीवनमरणको दोँसाधमा पुगेको बेला पनि उनीहरुलाई उपचारका लागि सदरमुकाम भैरहवा पुर्याउने जोरजाम गरिएन ।

12414080_927382864013262_109556848_o
दायाँ आँखानजिक गोली लागेर ढलेकी सोहबाती मुरावको चित्कार असह्य थियो । उनी घटनास्थलमा तरकारी बेच्न आएकी थिइन । उपचारका लागि सदरमुकाम लैजान आइरहेको एम्बुलेन्सलाई समेत प्रहरीले छेकिरहेको थियो । घाइतेलाई प्रहरीको आँखा छल्दै काँधमा बोकी नदी तरेर पैदल अस्पताल पुर्याउनु परेको व्यथा सुनाउँछन् उनका श्रीमान प्रभु मुराव । उनी गहभरि आँसु झार्दै भन्छन्,‘ तर पनि निर्दोष श्रीमतीलाई कालकवलित हुनबाट जोगाउन सकिनँ । सोहबातीको असोज २९ गते उपचारको क्रममा निधन भयो । प्रहरीको छेकबारले सात किलोमीटरको दूरीमा रहेको मेडिकल कलेजसम्म घाइतेलाई पुर्याउन पाँचघण्टा लागेको थियो । तत्काल अस्पताल पुर्याउन पाएको भए उनलाई जोगाउन सकिने प्रभु मुरावको भनाइ छ ।
चार वर्षीय चन्दन पटेललाई उनका परिवारले त्यसैगरी मेडिकल कलेज पुर्याउँदासम्म उनको प्राण गइसकेको थियो । बजारमा गोली चलेको आवाज सुनेर भित्रबाट आफ्नो पसलको सटर बन्दगरिरहेकी ५२ वर्षीय नन्दिनी पाण्डेको हालत पनि उस्तै रह्यो । पाण्डेलाई प्रहरीले ताकेर गोली हानेको बताउँछिन् उनकी १५ वर्षीय छोरी अंशु पाण्डे । उनी भन्छिन्,‘प्रहरीले बाटो जाम गरी तत्काल एम्बुलेन्स समेत आउन दिएनन् ।’ निकै बेरपछि हारगुहार गरी एउटा प्राइभेट भ्यानमा राखी मेरी आमालाई उपचारका लागि भैरहवा पुर्याइयो । उपचारकै क्रममा असोज २ गते उनको निधन भयो ।

12431741_927383110679904_1031256091_n
बेथरीको त्यो तरकारी बजार तिनाउ नदीको पुलबाट करिब बीस फीट तल छ । हटियालाई लक्षित गरी माथि पुलबाट प्रहरीले अचानक गोली बर्साउँदा चारवर्षे बालक चन्दन पटेल, दश वर्षीया बालिका रन्जनासिंह क्षेत्री, ४८ वर्षीया विन्दुला कौल र ३६ वर्षीय राजकुमार बरईको घटनास्थलमै मृत्युभएको थियो । तिनको शवलाई पनि प्रहरीले खोसेर चार दिनसम्म बेपत्ता बनाएको बताउँछन् मृतक राजकुमार बरईका बुवा चन्द्रभान बरई । उनी भन्छन्,“तरकारी किन्न गएका छोरालाई प्रहरीले अब कहिलै नफर्कने बनाइदियो । प्रहरीले हामीलाई पेस्तोल तेर्साएर उनको मृत शवलाई समेत जबर्जस्ती खोसेर चार दिनसम्म बेपत्ता बनायो ।”

702755_927382044013344_1855467907_n
रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्डमा रहेको बेथरी गाउँ, पिछडिएको मानिएका मर्चवारका अन्य गाउँभन्दा केही विकसितमा गनिन्छ । सदरमुकाम भैरहवाबाट करिब ३ किलोमीटर पश्चिममा रहेको बेथरी गाउँमै ईलाका प्रहरी कार्यालय पनि छ । नजिकै औद्योगिक करिडोर छ । जहाँ सिमेन्टलगायत अन्य दर्जनौं उद्योग छन् । विकसित गाउँको झल्को दिने औद्योगिक करिडोरकै कारण निर्दोष गाउँबासीलाई आफ्नो शान्तिसुरक्षाका लागि खटिने भनिएका सुरक्षाकर्मीका गोली प्रहारबाट सखासन्तान गुमाउनुपर्यो ।
मधेश आन्दोलनका कारण ठप्प रहेको भैरहवा–लुम्बिनी सडक ती उद्योगका लागि चाहिने कच्चा पदार्थ र उत्पादित सामान ओसार्ने एक मात्र सडक हो । बन्द खुल्ने छाँटकाँट नभएपछि उद्योगीहरुले प्रहरी प्रशासनलाई प्रभावित गर्दै मालवाहक ट्रकहरुलाई स्कटिङ्ग गराई सुरक्षित स्थानमा पुर्याउन लगाए । यसरी ट्रकको आवागमन गराएवापत तीनहजार प्रतिट्रक पाउने लोभमा प्रहरीले पनि स्कर्टिङ्ग गरी बाधित सडकलाई खुलाएका थिए ।
स्थानीयश्री ओम सहानी भन्छन् ः “सडकभरि प्रहरी खटाएर ती उद्योगका मालवाहक ट्रकहरु गन्तव्यतर्फ लाग्दै गर्दा करिब तीनसय मीटरको दूरीमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झड्प भएको हो । तर त्यतिञ्जेल धेरैजसो ट्रकहरु पार गरिसकेका थिए । दुई÷चार वटा ट्रक मात्र बाँकी रहँदा भाद्र २९ गते बेथरीमा प्रहरीले स्थानीयबासीमाथि त्रूmर दमन गरेका हुन् ।” भाद्र ३ गते भैरहवाको मृत्युताण्डव पनि तिनै उद्योगीका आर्थिक प्रलोभनमा परेका प्रहरीहरुबाट भएको उनी बताउँछन् ।
आन्दोलनकारी नेता सन्तोष पाण्डेका अनुसार भाद्र २५ गते प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की र आन्दोलनकारीहरुबीच आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउने तथा प्रहरीले कुनै पनि मालवाहक ट्रकलाई बल प्रयोग गरी आवागमन नगराउने भन्ने विषयमा ईप्रका बेथरीमै लिखित समझौता भएको थियो । तर प्रहरीले सम्झौताविपरित ट्रकहरुलाई स्कर्टिङ्ग गर्दै आवागमन सुचारु गर्न लाग्दा प्रदर्शनकारीहरुसँग सामान्य भनाभन भएकै कारण प्रहरीको अर्को जत्थाले अन्धाधुन्ध गोली प्रहार गरी बेथरी घटना गराएको हो । रुपन्देहीमा मधेश आन्दोलनलाई निस्तेज पार्न र मधेशीको आवाजलाई सधैँभरिका लागि बोधो बनाउन नियोजित ढंगले सो बर्बरतापूर्ण घटना गराइएको आन्दोलनकारीहरुको दाबी छ ।
घटनास्थलमा तयार गरिएको एक श्रव्यदृष्यमा अनुहार चिन्न नसकिने एक प्रहरी अधिकृतजस्तो देखिनेले ‘ठोक ठोक टाउकोमा ठोक’ भन्दै गोली प्रहार गर्न निर्देशन दिइरहेका छन् । उनको कमाण्डका प्रहरी सडकबाटै अन्धाधुन्ध गोली बर्साउँदै छन् । प्रहरीको गोली लागि हाटी बनगाइ १ की सोरसती मुराव, मैनहिया कुटवा बस्ने २१ वर्षीय दिपेन्द्र सहानी, मैनहिया ५ का करिब ६० वर्षिय पूर्णवासीधोबी, गोनहा ६ बेथरीकी गंगोत्री सहानी, गोनहा ६ का रामलील बेल्दास, रामू लोनिया, गायत्री मुरावलगायत अन्य ४० जना घाइते भएको मधेश मानवअधिकार गृह (माहुरी होम) ले जनाएको छ । घटना उद्योगी र प्रहरीको मिलोमतोमा गराइएको माहुरी होमको भनाइ छ । घटनास्थलमा अधिकारकर्मीहरु नपुगेको गुनासो पीडितहरुको छ ।
उद्योगी शशि न्यौपाने बन्दका कारण व्यापार प्रभावित बनेपछि आफूहरुले उद्योग वाणिज्य संघ भैरहवामार्फत् प्रहरीलाई गुहारेर गाडी स्कर्टिङ्ग गराएको बताए । तर बेथरी घटनामा व्यक्तिगत तवरले कुनै पनि उद्योगीव्यापारीको संलग्नता नरहेको उनले दाबी गरे ।
आन्दोलनकारीले तरकारी बजारबाटै ईटाढुङ्गा बर्साउदै प्रहरी भ्यानमाथि पेट्रोल बम प्रहार गर्दा प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालिन प्रमुख एवम् प्रहरी उपरीक्षक राजेन्द्र ढकालको दाबी छ । उद्योगीको आग्रह र आमउपभोकताको मागबमोजिम प्रहरीले ट्रकहरु स्कर्टिङ्ग गराइएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: