Wednesday, February 21, 2018
Home > कृषि/वन/वातावरण > तटबन्ध निर्माणपछिको खुशी

तटबन्ध निर्माणपछिको खुशी

राज्यले योजनबद्ध र सिलसिलेवार ढङ्गले गत तीन दशकयता गर्दैआएको अक्षम्य र अनुचित दुष्कार्यको प्रतिफल चुरे क्षेत्रको अकल्पनीय विनास भएको छ । जसको सीधा प्रभाव तराईमधेशका जनतामा परिरहेको छ । चुरे क्षेत्रमा मानव बस्तीको फैलावट, वनजङ्गल अतिक्रमण, रुख कटानी, चरिचरन र अनुपयुक्त पूर्वाधार विकासका कारण पानी अड्न नसकेर चुरे नदीहरुमा आउने बेलगाम बाढीले माथिल्लो भागमा भूक्षय, बीचको भाग(भावर क्षेत्र) मा पटान र तल्लो दक्षिणी (सीमावर्ती) क्षेत्रमा हुने डुबानले मधेशी जनताको बिल्लिबाँठ भएको छ । बाढीले गर्दा बगेर आउने बालुवा, ढुङ्गा र गिट्टीले गर्दा खोलाको सतह बढेर पानी छरिएपछि हजारौं हेक्टर उर्वर जमीन बलौटे भूभागमा परिणत भएको छ । खेतीयोग्य जग्गाको स्वामित्वले गर्दा धनी मानिनेहरु एकाबिहान सुतेर उठ्दा खोलाले आफ्नो विग्घौं जग्गा बगाएको थाहा पाएर विलौना गर्नेहरुको सयौं कथा सुन्न पाइन्छ यस क्षेत्रमा । तर राज्यले बिस्तारै आफ्नो अपराधलाई थोरै मात्र भए पनि कम गर्ने अस्थायी प्रयत्न थालेको छ । यो दृश्य सप्तरीको दक्षिणी भेगको हो । जहाँ सरकारले तटबन्ध बनाएर खोलालाई पहिलेकै बाटोमा फर्काएको छ । जसले गर्दा नदीको चपेटामा परेका सयौं स्थानीयबासीको जग्गा प्राप्ति भएको छ । फोटामा देखिने महिला शोविता राम छिन् । वर्षौअघि बलान खोलाको रौद्र रुपले गर्दा उनको गरिखाने छ कठ्ठा जग्गा बालुवाले पुरिएको थियो । तटबन्ध निर्माणपछि उनको त्यो जग्गा मात्र प्राप्ति भएको छैन अपितु त्यसअघि पुरिएको थप दुई विग्घा जग्गा पनि फेला परेको छ । खेतीपाती गर्ने जग्गालाई नदीले बगाएपछि सुकुम्बासी बन्नपुगेको राम परिवारमा अहिले खुशियाली छाएको छ । अर्काको जग्गामा बनिबूतो गरेर जेनतेन गुजारा गरिरहेको राम परिवारका जेठा छोरा विदेशिएका छन् । माइलो ज्यालामजदूरी गरेर दुई छाक टार्ने पारिवारिक काममा सघाउँदै छन् र कान्छी छोरी नजिककै विद्यालयमा कक्षा आठमा पढ्छे । तटबन्धका कारण दुई विग्घाभन्दा बढी जग्गाको स्वामित्व पाएकी शोविता भन्छिन्–‘विदेशिएको छोरालाई गाउँमै खेतीपाती गर्न फर्कन भनेकी छु । माइलोको पसीना पनि आफ्नै खेतमा बग्नेछ र कान्छीलाई लेखपढ गराएर ठूलो बनाउने धोको अब पुरा हुनेछ ।’
anil1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: