Tuesday, November 20, 2018
Home > समाचार > आज जनकपुरमा रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै

आज जनकपुरमा रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै

bibahpanchami
शैलेन्द्र महतो
जनकपुरधाम ,पुस १ गते ।
मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइँदै छ । सनातनकालदेखि रामजानकी विवाहको स्मरणमा मनाइँदैआएको विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि देशविदेशका हजारौं श्रद्धालुभक्तजनहरु प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा ओइरिएका छन् । भक्तजनहरुमा भारतीय धार्मिक तीर्थालुहरुको सँख्या उल्लेख्य छ ।
मिथिलाञ्चलको वैवाहिक परम्परा र रीतितिथिअनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आउने गरेका छन् । रामजानकीको डोला हेर्न बाह्रविघा मैदानमा श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ ।
त्रेतायुगमा जुन प्रकारले रामसीताको विवाह जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ । आज दिउँसो साधुसन्तको अगुवाइमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको विभिन्न भागको परिक्रमा गर्दै दुबै डोला ऐतिहासिक रंगभूमि मैदानमा मिल्ने गर्दछ । राजजानकीको डोला बाह्रविघा मैदानमा मिलेपछि स्वयम्बर गरिन्छ । राम मन्दिरका महन्थ राम गिरी छोरा पक्ष अर्थात् रामका बुवाको भूमिकामा हुन्छ भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुवा राजा जनकको भूमिकामा हुन्छन् । तत्पश्चात दुबै डोला जनकी मन्दिरमा गई वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुने गर्दछ । रामजानकीको डोला निस्केपछि दर्शन गर्न श्रद्धालुभक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यसअवसरलाई हर्षोल्लासपूर्वक मनाउनेहरुले स्ययम्वरको औसरमा भने पुष्पवृष्टि गरी आफ्नो श्रद्धा व्यक्त गर्छन् ।
यस अवसरमा वैवाहिक कार्यक्रमका लागि आयोध्याबाट करिब तीनसयको सँख्यामा साधुसन्तहरुको जन्ती गत सोमबार साँझ नै जनकपुर आइसकेको छ ।
सप्ताहव्यापी यस महोत्सवको क्रममा धनुषयज्ञ , तिलकोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेका छन् । त्यस्तै आज रामाजानकीको विवाहपश्चात बिहीबार रामकलेवा गरी विधिवतरुपमा विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिनुभयो ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजना भएको साँस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको लोककला र साँस्कृतिहरु झाँकीहरु यस कार्यक्रममा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई ,राम, सीता, लक्ष्मणआदि रामायणका पात्रहरुको भूमिकामा राखेर नाटक प्रदर्शन , झाँकी ,नाचागान, भजनकीर्तन र भगवानका रुपमा ती पात्रहरुको पूजाआजासमेत गरिन्छ ।
रामजानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कुनै अप्रिय घट्ना हुन नदिन जनकपुरको चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरीकार्यालय धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।
त्यस्तै सामाजिक संंघसंस्थाहरुले मेलामा आउने लाखौं तीर्थालुको सेवाका लागि विभिन्न ठाउँहरु शिविर तथा बासको व्यवस्था गरी तीर्थालुहरुलाई स्वागत गर्न जुटेका छन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार ,आवास , निःशुल्क भोजन, तथा मेलामा अलपत्र परेकाहरुलाई खोजबिन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघसंस्थाहरुले गर्ने गर्दछन् ।
बन्दले श्रद्धालुभक्तजनको संख्यामा कमी
यस वर्ष तराई मधेशमा जारी आन्दोलनले मेलामा सहभागी हुन आउने श्रद्धालुभक्तजन संख्यामा कमी देखिएको छ । आन्दोलनको सन्त्रास र आवागमनमा भइरहेको अवरोधका कारण श्रद्धालुभक्तजनहरुको संख्यामा कमी देखिएको हो । तर आन्दोलनरत्त पक्षले श्रद्धालुभक्तजनहरुलाई सहजरुपमा आउन भारतीय सवारीसाधनलाई निर्वाधरुपमा एवं स्वदेशी यातायातमा ब्यानर झुण्ड्याएर आउन आग्रह गरेको छ ।
राष्ट्रपति भण्डारी र भारतीय राजदूत विवाहपञ्चमीमा सहभागी हुने
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि भारतीय राजदूत रञ्जित राय रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आज जनकपुर आउने कार्यक्रम छ । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी आज दिउँसो रामजानकी महोत्सवमा सहभागी हुन जनकपुर आउने कार्यक्रम तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रजिअ पराजुलीकाअनुसार राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ । यस्तै भारतीय राजदुत राय पनि जनकपुर आउने कार्यक्रम रहेकोसमेत पराजुलीले जानकारी दिनुभयो ।

आन्दोलनरत्त पक्षले विरोध गर्ने
आन्दोलरत्त संयुक्त लोकतान्त्रिक मोर्चालगायत आन्दोलनरत्त पक्षहरुले राष्ट्रपति जनकपुर आए अवरोध र निषेध गर्ने चेतावनी दिएका छन् । तराईमधेशमा विगत चार महिनाभन्दा बढी समयबाट चलिरहेको आन्दोलनको क्रममा आन्दोलनकारी पक्षहरुले जारी भएको नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने सम्पूर्ण सांसद एवं नेपाल सरकारका प्रधानमन्त्रीलगायत मन्त्री र उच्चओहोदाका नेताहरुलाई मधेश प्रवेशमा रोक लगाएका छन् ।
जनकपुरमा आन्दोलनरत्त गैरराजनीतिक संगठन प्रगतिशील मधेशी समाज , संयुक्त युवा संघर्ष समिति , मधेश अधिकार संघर्ष समिति ,मधेश बुद्धिजीवि नागरिक समाज र संघीय समावेशी गठबन्धनलगायतले मंगलबार जनकपुरमा चेतावनी दिदै
राष्ट्रपति भण्डारीको पुतला दहन गर्दै प्रदर्शन गरेका छन् । आन्दोलनरत्त पक्षले शान्तिपूर्णरुपमा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई भाड्न र विथोल्न राष्ट्रपति भण्डारी षड्यन्त्रपूर्वक जनकपुर आउन लागेको आरोप लगाएको छ । उनीहरुले कालो झण्डा देखाउँदै अवरोध गर्ने र भिडभाडमा हुन सम्भावित घटनाको जिम्मेवारी राज्यपक्ष हुने चेतावनीसमेत दिएका छन् ।

%d bloggers like this: