Tuesday, November 20, 2018
Home > विचार/अन्तर्वार्ता > अब स्वतन्त्र मधेशको आन्दोलन उठ्नु पर्छ : गोपाल किराती

अब स्वतन्त्र मधेशको आन्दोलन उठ्नु पर्छ : गोपाल किराती

GK1

मधेश आन्दोलन पहाडिया अहङ्कारवादी बाहुनवादी शासकहरुको रवैयाको परिणाम हो
मधेशमा सैनिक दमन हुन्छ भने मधेशमा सशस्त्र प्रतिरोध सुरु हुन्छ
थारु र मधेशीको माग सम्बोधन भएन भने नेपाल पाँच टुक्रामा विभाजित हुन्छ
थारुवान र मधेश जलिरहेको बेला राष्ट्रिय स्वाधिनताको कुरा पहाडिया स्वाधिनता मात्र हो
झापा, मोरङ र सुनसरीलाई मधेशको दुईनम्बर प्रदेशमा हाल्दा मलाई कुनै आपत्ति हुँदैन
विराटनगर सहरलाई कोइरालाहरुले गोर्खा ठान्छन् । शाहवंशको गोर्खाजस्तै
पहाडिया अहङ्कारवादी राज्यसत्तालाई ध्वस्त पार्ने थारु र मधेशी जनताका माग ठिक हुन्
ताप्लेजुङ, सँखुवासभा र भोजपुरबाट आएर विराटनगरको जनसँख्या बढाउने पहाडिया नै हुन्
यथास्थिति छिचोल्न सक्नुभयो भने प्रचण्ड लेनिन बन्नुहुन्छ, सक्नुभएन भने बाहुन बन्नुहुन्छ
मधेशलाई स्वतन्त्र मधेश, सार्वभौम स्वाधिन मधेशको आन्दोलनमा जानुपर्छ
स्वतन्त्र मधेशको आन्दोलनले जनजाति र आदिबासीहरुका लागि ढोका खुल्छ
जनजातिहरुभित्र आगो छ, उनीहरुले चित्त बुझाएका छैनन् ।… अनि बिष्फोट हुन्छ
एकीकृत नेकपा माओवादीलाई लागेको क्यान्सरलाई हटाउन उच्चप्रकारको शल्यक्रिया गर्नुपर्ने पार्टी अध्यक्ष प्रचण्डका पक्षधर स्थायी कमिटी सदस्य गोपाल किराती एमाओवादीमा प्रखर, आँटिलो र प्रभावशाली नेता मानिनुहुन्छ । आफ्नो दृष्टिकोण र अडानप्रति अविचल रहँदै उत्पीडित जनताका पक्षमा खरो वकालत गर्दैआउनुभएका किरातीसँग मूलतः मधेश आन्दोलनर यसको निकासको सेरोफेरोमा केन्द्रित रहँदै सञ्चारकले कुराकानी गरेको छ । करिब ५४ मिनेट कुराकानीका मुख्य अंशलाई माथि राखिएको छ । अन्तर्वार्ताको सामान्य समपादित तर पूर्ण अंश प्रस्तुत गरिएको छ ।

 

मधेश आन्दोलनबारे तपाईको बुझाई के छ ?
मधेश आन्दोलन वस्तुतः पहाडिया अहङ्कारवादी शासकद्वारा शताब्दियौंदेखि गरिएको उत्पीडनको परिणाम हो । हरेक वस्तुलाई एकको दुईमा विभाजन गरेर हेर्ने हामी कम्यूनिष्टको भौतिकवादी दृष्टिकोणले देशभकत उत्पीडित जनसमुदायको एउटा मधेश छ भने दललहरुको मधेश अर्को । दलाली पहाडमा पनि छ । यस्तो दलाली जुनसुकै जाति र समुदायमा विद्यमान रहन्छ । अब दलालहरुले मौका छोपेको पनि हुनसक्छ । छिमेकी भारतले संविधानसभाबाट संविधान बनाउँदा नाकाबन्दीको जुन सजाय गरेको छ, त्यो पनि मिसिएको छ । तर मुख्यतया मधेश आन्दोलनको कारण चैँ थारु, मधेशी, आदिबासी, दलित र मुस्लिमविरोधी अढाइसय वर्ष लामो पहाडिया अहङ्कारवादी बाहुनवादी शासकहरुको रवैयाको परिणाम हो ।
तर मधेश आन्दोलनलाई राष्ट्रिय स्वाधिनताविरुद्धको लडाइँका रुपमा पनि परिभाषित गर्नेहरु छन् नि ?
यस्तो बुझाइ त केपी ओलीहरुको हो । केपी ओली भनेको पहाडिया अहङ्कारवादीहरुको नेता बन्न खोजेका छन् । यत्तिबेला एकीककृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकमा नेताहरुले अहिले राष्ट्रिय स्वाधिनताको जागरण आएको भन्नुभयो । प्रत्युत्तरमा मैले थारुवान र मधेशमा के स्वाधिनताको जागरण आएको छ ? कठमाडौंलाई हेरेर मात्र हुन्छ ? मैले खरो ढङ्गले प्रश्न गरेको छु । राष्ट्रिय स्वाधिनताको जागरण भनेको यो देशका सबै क्षेत्र र समुदायमा आउनु प¥यो नि त । थारुवान र मधेश जलिरहेको छ । रगत बगिरहेको छ । भविष्य कहाँ हो कता हो भनेर अन्धकार पैदा भएको छ । यस्तो बेलामा राष्ट्रिय स्वाधिनता कसैले भन्छ भने त्यो पहाडिया स्वाधिनता मात्रै हो । त्यसलाई हामीले मूर्दावाद भन्नुपर्छ ।
स्वाधिन जातिहरुको मात्र स्वाधिन नेपाल हुन्छ । पराधिन जातिहरुको त पराधिन नेपाल भइहाल्छ । सङ्घीय गणतन्त्र नेपालमा मधेशी जनतालाई स्वाधिन बनाइनु पर्छ । थारु, मुस्लिमलगायत सबै जनता अझ खसलाई पनि स्वाधिन बनाइनुपर्छ । अनि मात्र स्वाधिन जातिहरुको स्वाधिन नेपाल हुन्छ । त्यसपछि कसले हेप्छ हामीलाई ? तर नेपालभित्र पहाडिया अहङ्कारवादी ब्राह्मणवादी सत्ताले चाहिँ आफूबाहेक सबैलाई पराधिन तुल्याएको छ । ‘परतन्त्र मधेश और उसकी सँस्कृति’ लेखेकै कारणले सम्भवतः पञ्चायचकालमा हत्या गरिएका सहिद रघुनाथ ठाकुरको त्यो पुस्तक मैले सन् १९९१ म पढें । मधेशलाई कसरी पराधिन बनाइएको छ भन्ने बुझें । पहाडियाहरुले भन्ने बेलामा चैँ मधेशलाई नेपालको केन्द्र भन्ने, जनयुद्धको बेलामा माओवादी प्रचण्डहरुले जनयुद्धको केन्द्र मधेश भन्ने तर मधेशी ठूलो सँख्यामा रहेका जनताका भावनालाई कुल्चने अनि स्वाधिनताको नारा लगाउने कुरा पहाडिया स्वाधिनता मात्रै हो । राणातन्त्र, राजतन्त्र र गणतन्त्र सबै सायमा मधेशी भावनालाई कुल्चने काम भएको छ ।
आन्दोलनरत्त मधेशी दलका माग वेफ्वाँक छन पनि भनिन्छ । यस्तो भन्नेहरुको तर्क छ कि संविधानमा सबै मागहरुलाई सम्बोधन गरिएको छ । तपाई सहमत हुनुहुन्छ ?
नेपाली काँग्रेस र नेकपा एमालेले अलिकति अगाडि बढेर दुईनम्बर प्रदेश नामाकरण गरिएको आठ जिल्लाका प्रदेशलाई मधेश भनेर संविधानमा लेखिदिएको भए एउटा सम्बोधन हुन्थ्यो । लेख्न मानेनन् । ठूलो जनसँख्या भएको मधेश संवेदनशील इकालामा छ । छिमेकीसँगको सीमाना छ । यसलाई सम्बोधन गरिरिएको भए काँग्रेस र एमालेकै जिन्दावाद हुन्थ्यो । अहिलेको स्थिति हुँदैन्थ्यो । पश्चिममा थारुहरुको पनि कमसेकम कैलालीको चारओटा निर्वाचन क्षेत्र खुटिया नदीदेखि पूर्व पाँच नम्बरमा हालिदिएको भए वा वर्दियासँग जोडिदिएको भए टीकापुर काण्ड हुँदैन्थ्यो । शेरबहादुर देउवा, भीम रावल अझ हाम्रै पार्टीका लेखराज भट्टको भूमिका पहाडिया अहङ्कारवादको शिकञ्जा कस्नमै रह्यो । प्रधानमन्त्री भइसकेका र फेरि पनि प्रधानमन्त्री बन्न चाहेका शेरबहादुरले कैलालीको एक इन्च जमीन पनि दिन्न भने ।
झापा, मोरङ र सुनसरीलाई मधेशको दुईनम्बर प्रदेशमा हाल्दा मलाई कुनै आपत्ति हुँदैन । तत्कालिन राज्य पुनर्संरचना समितिले काँग्रेस र एमालेको अस्वीकारोक्तिका बाबजूद पनि बहुमतले पारित गरेको प्रतिवेदनमा पर्सादेखि सुनसरी, मोरङ र झापासम्म मधेश छ । कतिपय पहाडीहरुमा आशङ्का छ कि मधेशीको बाहुल्य भएको प्रदेश मात्र बनाइयो भने भारतमा मिलाइ दिन्छन । यो चैँ पहाडिया अहङ्ककारवादी दृष्टिकोणको अभिव्यक्ति हो । मैले उनीहरुलाई भनेको छु, झापादेखि पर्सासम्मका जिल्ला मधेशमा हुँदा तिमीले शङ्का गरेको मधेशीको मात्र बाहुल्य हुँदैन । त्यहाँ पहाडी पनि हुन्छ । मुस्लिम पनि हुन्छ । थारु प्नि हुन्छ । कम्पोजिसन मिल्छ र कतै पनि जाँदैन । उनीहरु कहाँ हुन्छ त्यस्तो भन्दै उफ्रि हाल्छन् । (हाँसो) । यसो भए अझ बढी वस्तुसंगत र न्यायसम्मत हुन्छ ।
मानव भूगोलका आधारमा प्रदेश बनाउने हो भने मोरङ जिल्लाका चारओटा निर्वाचन क्षेत्रहरु चार, पाँच, छ र सात तथा सुनसरी जिल्लाका तीनओटा निर्वाचन क्षेत्रहरु तीन, चार र पाँचलाई सप्तरीसँग मिलाएर दुई नम्बर प्रदेशतिर हाल्नुपर्छ । जुन इलाकामा मधेशी, मुस्लिम र थारुहरुको अत्याधिक बसोबास छ, त्यसलाई दुई नम्बरसँग जोड्नु असाध्यै वस्तुसंगत र न्यायसंगत हुन्छ । तर यहाँ विडम्बना वा अवरोध भनौं, विराटनगर सहरलाई कोइरालाहरुले गोर्खा ठान्छन् । शाहवंशको गोर्खाजस्तै(हाँसो) । कृष्णप्रसाद, मातृका, बीपी, गिरिजा र कोइरालाहरुका थुप्रा सन्तानका गोर्खा । अर्को चैँ विराटनगर उपमहानगरपालिका वरपरका बस्तीमा मधेशीहरुको शतप्रतिशत बसोबास छ तर सहरभित्र पहाडियाहरुको । म भर्खरै विराटनगर पुगे । केही पहाडिया साथीहरु खासगरी ब्राह्मणहरुले जनसँख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने प्रस्तावप्रति आपत्ति जनाए र रोक्नै पर्ने भने । मैले भने, त्यसो भए तपाईं पहाड गइहाल्नुस । ताप्लेजुङ, सँखुवासभा र भोजपुरबाट यहाँ जनसँख्या बढाउने त तपाई हो नि । (हाँसो) । ठिक छ इन्डियाबाट पनि थुप्रा मान्छे आइरहेका होलान त्यसको छुट्टै मूल्यांकन गरौंला । तपाई चैँ पहाडको बसाइँ छोडेर यहाँ आएर घर बनाउने अनि मतदाता बन्ने । मधेश वा तराई क्षेत्रमा जनसँख्या धेरै बनाउनमा तपाईको भूमिका छ कि छैन । गोपाल किरातीले छैन । काठमाडौंमा न विरानगरमा उनको घर छ । म जहाँ जन्मिएँ, उतैको मतदाता नामावलीमा मेरो नाउँ छ । त्यसो हुनाले पहाडको जनसँख्या घटाउने र मधेशको जनसँख्या बढाउने पहाडियाको भूमिका छ । तपाई सच्चयाउनुस भनेपछि साथीहरु चुप लाग्नुभयो । यद्यपी हाम्रै छिमेकी भारतमा एउटा निर्वाचन क्षेत्रमा २७ लाख मतदाता छन् भने लक्षदीपजस्तो निर्वाचन क्षेत्रमा ६२ हजार मात्र । त्यहाँ पनि ज्यादति भइरहेका होलान । तर समग्रमा राज्यसत्ता पहाडिया अहङ्कारवादीहरुको हातमा लामो समयसम्म रहेकोले उनीहरुका दृष्टिकोण एकदम उत्पीडनकारी र हस्तक्षेपकारी छ । माक्र्सवादी र लेनिनवादी कार्यकर्ताभएकोले मैले पहाडिया अहङ्कारवादी राज्यसत्तालाई ध्वस्त पार्नका लागि थारु र मधेशी जनताबाट जे माग हुन्छ, त्यसलाई ठिक हो मैले भन्नुपर्छ ।
तर तपाईको दृष्टिकोण र तपाईको पार्टीको व्यवहारमा भिन्नता देखिन्छ नि ?
एमाओवादी दृष्टिकोण पनि म जस्तै हुनुपर्ने हो । तत्कालिन नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलन, दोस्रो राष्ट्रिय सम्मेलन हुँदै हेटौंडा महाधिवेशनले पनि राष्ट्रिय आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई स्वीकार गरेको छ । राष्ट्रिय आत्मनिर्णयको अधिकार भनेकै मधेशीको सन्दर्भमा बहुसँख्यक जनताले भनेको कुरो स्थापित हुनु हो । नेपालभित्र मलाई स्वायत्त मधेश प्रदेश चाहिन्छ अथवा होइन, नेपालमा अन्याय र उत्पीडन मात्र हुन्छ त्यसैले म स्वतन्त्र बन्छु, इनडिपेन्डेन्ट मधेश चाहन्छु भन्नु पनि आत्मनिर्णय नै हुन्छ । मैले पार्टीमा यसबारे छलफल गर्दा स्वाधिन जातिहरुको मात्र स्वाधिन नेपाल हुन्छ । पराधिन जातिहरुको पराधिन नेपाल हुन्छ । त्सकारण बाहुनले बोल्नुप¥यो कि स्वाधिन नेपाल बनाउने कि पराधिन नेपाल बनाउने । अब बाहुनहरुको हात, दिमाग र निर्णयमा भर पर्छ यो कुरा ।
स्वायत्तता पाइँदै पाइँदैन भने आजको नेपालका उत्पीडित जातिले पराधिनता स्वीकार्न तयार छैनन् । स्वायत्तता हुँदैन । स्वायत्तता दिन पहाडियाहरु तयार हुँदैनन् । मुख्यतया काँग्रेस र एमालेका । अझ एमाओवादीका पहाडियाहरुले पनि कचिङ्गल गर्छन् । सिद्धान्तमा माओवादीमा समस्या छैन । एमाओवादीले पारित गरेको छ, सङ्घीयता, पहिचानसहितको स्वायत्तता पारित गरेको छ । तर त्यही नीतिको वकालत गर्दा पार्टीकै साथीहरु भन्छन् गोपाल किराती जातिवादी छन् । एमाओवादीका कयौं ब्राह्मणक्षत्री मूलका कमरेडहरु हुनुहुन्छ त्यो एउटा धङधङ्गी जो दिमागमा बसिराखेको छ । त्यसको विरुद्ध मैले पार्टीमा लडिरहेको छु ।
तपाईहरुका पार्टीका अध्यक्ष प्रचण्डको दृष्टिकोण के छ ?
प्रचण्डलाई म अहिलेसम्म एक्काइसौं शताब्दीको लेनिन भनेर बुझ्छु । तर उहाँलाई लेनिन बन्न निकै कठिन भइरहेको छ । त्यो पनि म बुझ्छु । उत्पीडित वर्ग, समुदाय र महिलाका हकका लागि पहल गर्ने आन्दोलन र विचारको नेतृत्व गर्ने कामले उहाँलाई लेनिन बनाउने हो यथास्थितिले लेनिन बन्न नदिने हो । यथास्थिति छिचोल्न उहाँलाई हामीले मद्दत गरिरहेका छौं । त्यो छिचोल्न सक्नुभयो भने लेनिन बन्नुहुन्छ, सक्नुभएन भने बाहुन बन्नुहुन्छ । प्रचण्ड जन्मले बाहुन हो । को कहाँ जन्मिने कुरा हाम्रो नियन्त्रण र इच्छाको विषय भएन । जन्मले होइन, कर्मले मानिसले आफ्नो भूमिका निर्धारण गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । जन्मले बाहुन भए पनि प्रचण्ड क्रान्तिकारी कम्यूनिष्ट हुन् भन्ने मलाई अहिलेसम्म लाग्छ ।
तर उहाँका अभिव्यक्ति र व्यवहारबाट क्रान्तिकारिता देखिएको छैन नि ?
उहाँले नसकेको हो । उहाँ सीमाप्रधान भइरहनुभएको छ । त्यसैले हामीले मद्दत गर्नका निम्ति स्वाधिन मधेशको पक्षमा वकालत गरिरहेका छौं ।
मधेश आन्दोलनलाई राज्यले राजनीतिक तवरले सम्बोधन नगरी दमनबाट निस्तेज गर्न खोज्दैछ नि ?
सैनिक दमन गरेर हुँदैन । एकचोटि सेना परिचालन भयो तर समाधान त भएन नि । सेनाकै अधिकारीहरुले यस समस्याको सैन्य समाधान राजनीतिक समाधान खोज्नुपर्ने सुझाएका छन् भनेर मिडियाहरुमा आइरहेका छन् । म भन्छु, सैनिक दमन हुन्छ भने मधेशमा सशस्त्र प्रतिरोध सुरु हुन्छ । कसरी सोध्दा भन्छु मलाई थाहा छैन । मलाई लाग्छ, जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध सुरु हुन्छ । एउटा फौजी सिद्धान्त र रणनीति छ, जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध र जहाँ प्रतिरोध त्यहाँ विष्फोट हुन्छ । दमन हुनेले कि समाप्त हुनु¥यो कि त प्रतिरोध गर्नुप¥यो । मलाई लाग्छ, मधेशले प्रतिरोध गर्छ । हातहतियार कहाँबाट ल्याउँछन् भनी सोधे साथीहरुले , मलाई त्यो पनि थाहा छैन । मलाई के थाहा छ भने जनयद्धको बेला हामीले पहाडका थुप्रा पुलिस र सेनाका ब्यारेक र पोष्टहरु खोस्यौं । खोसेर हतियार जुटायौं । त्यो मात्र पर्याप्त थिएन । अनि हामी खरिद गथ्र्यौं । हतियार खरीद गर्ने बजार त्यहीँ हो (हाँसो) । त्यो चैँ पर्याप्त उपलब्धता छ ।
त्यसो भए मधेशलाई अर्थोक विकल्पमा केन्द्रित हुनपर्छ ?
म्धेशवादी आन्दोलन गरिरहनुभएका जति पनि नेताहरु हुनुहुन्छ, उहाँहरुमा पनि एउटा गम्भीर सीमा छ । उहाँहरु काँग्रेस र एमालेकै स्कूलिङ्गबाट आएका नेताहरु हुनुहुन्छ । मधेशको मौलिक दृष्टिकोण चैँ पहिला काँग्रेस भए पनि मधेश आन्दोलनको निरन्तरताका कारण गजेन्द्रनारायण सिँहसँग थियो । उहाँका स्कूलिङ्गबाट आएकाहरुले आँट गर्नुपर्छ कि स्वाधिन मधेशको आन्दोलन गर्ने । आन्दोलन लामो भयो, पीडादायी भयो । शासकहरुले सुन्दैनन भनिसकेपछि स्वतन्त्र मधेश, सार्वभौम स्वाधिन मधेशको आन्दोलनमा जानुपर्छ । र, त्यसलाई एकीकृत नेकपा माओवादीको तर्फबाट संरक्षण गराउने जिम्मा गोपाल किरातीको भयो । किनभने एकीकृत नेकपा माओवादी सिद्धान्तमा आत्मनिर्णय भनेको छ । भारतको प्रदेशको रुपमा जाने हो भने हामी विरोध गर्छौ । मान्दैनौं । तर सार्वभौमसत्तासम्पन्न स्वाधिन मधेशको आन्दोलन चलाउने हो भने मेरो दृढ समर्थन हुन्छ । किनकी म किरात राज्यको आन्दोलनबाट आएको व्यक्ति हुँ । मलाई थाहा छ, किरात राज्य ल्याउने केन्द्र मधेश हो । मधेशको आन्दोलनले निर्णायक गति हासिल गरेपछि किरात, लिम्बुवान, ताम्सालिङ, मगरातहरुको पनि ढोका खुल्छ । यसरुपमा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र स्वाधिन मधेशको आन्दोलन अघि उढाउनुपर्छ । उठाइसकेपछि हेरौंला । हिन्दीमा देखा जाएगा……..
संविधान जारी गर्दा त शासकहरुले जनजातिलाई पनि व्यवस्थापन गरेको देखियो ?
आन्दोलनमा हरेक समुदायको उत्पादन सम्बन्धले स्थिति निर्धारण गर्छ । सहरमा बस्ने जनजातिहरु खासगरी काठमाडौंमा छन् , त्यसमध्ये दुई प्रतिशतको पनि घर छैन । घर हुने ठालु भइहाल्यो । राणासाहेब, शाहसाहेब र ठकुरीसाहेब भइहाल्छन् । ९८ प्रतिशत काठमाडौंमा बस्ने आदिबासी जनजातिहरु(नेवारबाहेक) अर्काको घरमा बस्छन् । विभिन्न पेशामा संलग्न छन् । विद्यार्थी पनि छन् । त्यसकारण उनीहरु मधेशमा जस्तै जुट्न सक्दैनन् । खोटाङ र भोजपुरजस्ता पहाडी क्षेत्रमा किरात राज्य हुनुपर्छ नभए हर्दा भन्यौं भने मुस्किलले गाडी पुग्या ठाउँमा गाडी रोके जनता के भन्छन् । जनजातिहरुको पहाडी बसाइँले पहाडको कृषि उत्पादन सम्बन्ध हुनाले उनीहरु शान्तिपूर्ण मतदानमा भाग लिन सक्छन् कि अर्को सशस्त्र आन्दोलनमा उनीहरुको भूमिका निर्णायक हुनसक्छ । अहिले त हामी शान्ति सम्झौता गरेर हामी शान्तिपूर्ण आन्दोलनमा छौं । मधेशी जनताको घरमा स्वामित्व छ । केही घरवारविहीन भए पनि । घनीभूत जनसँख्याको सहरबजार छन् । त्यसैले दुईघण्टामा दशहजार जुलुस हुन्छन् । जनजातिहरु, दलितहरु, मुस्लिमहरुमा मधेशजस्तो ठूलो आन्दोलन हड्ताल गर्न नसके पनि उनीहरुभित्र आगो छ । चित्त बुझाएका छैनन् । यसलाई बिस्तारै संकलन गर्दै केन्द्रीकरण हुन्छ । अनि बिष्फोट हुन्छ ।
राष्ट्रियताबारे खसआर्य र पहाडी जनजातिको बुझाइ समान छ नि ?
हो । अब पहाडको जनजाति म । किराती समुदायबाट आएँ । मेरो समुदायले चैँ बाहुनबाट राम्रो कुरा केही सिकेन । नराम्रो कुरा मात्र सिक्यो । दलितलाई बाहिर राख्नुपर्ने, अछुत मान्नुपर्ने, दलितले छोएको खानु हुँदैन भनेर दलितलाई दमन, उत्पीडन र अपमान गर्नका निम्ति मेरो किरातीले बाहुनसँग सिक्यो(हाँसो) । अधिकार कसरी खोस्ने र राजकाज कसरी लिने भन्ने सिकेनौं हामी । आफ्नो भाषा र सँस्कृतिको उन्नति कसरी गर्ने चाहिँ बाहुनसँग सिकेनौं । सामाजिक अन्तविर्रोध कस्तो छ भने आदिबासी, जनजाति र ब्राहम्णक्षत्रीहरुको एउटा संयुक्त मोर्चा छ । त्यो के भने दलितलाई अछुत नै मान्नुपर्छ । फेरि जनजातिको भाषा र सँस्कृति मान्नु हुँदैन भन्ने कुरामा दलितको ब्राहम्णक्षत्रीसँग संयुक्त मोर्चा छ । बडो दूर्भाग्य छ, उत्पीडितहरुबीच हुनुपर्ने स्वाभाविक मोर्चा छैन ।
हो, आधारभूतरुपले राष्ट्रियताबारे खस र जनजातिको बुझाइ एउटै छ । तर सचेत क्रान्तिकारी कार्यकर्ताको दृष्टिकोण फरक छ । थारुमधेशी जनता रोइरहेको बेला मैले हाँस्न मिल्दैन । म हाँसे भन्ने म पनि पहाडिया अहङ्कारवादी हुन्छ । मेरो औचित्य हुँदैन । त्यसैले मधेशीहरु रोएको बेला आँसु आउन सकेन भने पनि हमदर्दी राख्नुपर्छ । मधेशी जनतालाई उत्पीडन र अपमान गर्ने विषयमा पहाडियाहरु इतिहासका अपराधी हुन् । म पनि पहाडिया भएँ । त्योभित्रको जाति, उत्पीडित जाति त भएँ । तर फेरि पनि मधेशीहरुलाई अपमान र दमन गर्नका निम्ति बाहुनक्षत्री अहङ्कारवादलाई मेरो जातिले पनि मद्दत पु¥याएको छ । त्यसो हुनाले त्यो अपराधमा म पनि सहभागी छु । इतिहासको त्यो अपराधको पापबाट छुटकारा पाउन म मधेश मुक्तिको समर्थन गर्दछु । त्यसकारणले अरु पहाडिया र गोपाल किरातीमा अन्तर छ । मधेशको उत्पीडनको कारणमा सचेत जिम्मेवार व्यक्तिहरुको धारणा फरक हुन्छ । किरातीजस्ता केही मान्छेहरु मधेशका हितैषी हुन् । मित्र छन् । तर आमजनताले के हेर्छन् भने यो….पहाडिया हो । मैले त्यो अनुभव गरेको छु ।
यस्तो दुराग्रह किन त ?
म १९९० मा सोलुमा गिरफतार भएर आठ महिना राजविराज कारागारमा बसें । त्यहाँ मेरो बाहिरका समाजसँग सम्पर्क भएन । मलाई त्यहाँको समाजलाई नेपाली भाषा आउँछ कि आउँदैन भन्ने थाहा भएन । म जनआन्दोलनलगत्तै शान्ति सम्झौता भएपछि राजविराजको एउटा सभामा पुगें । लाखौंको भिड थियो । पार्टीका अरु साथीहरुले मैथिलीमा बोल्नुभयो भारतीय अतिथिहरु हिन्दीमा । म हिन्दीमा बोल्न सक्थे तर भाषणको अर्थ नलाग्ला भनेर नेपालीमै बोले । नेपाली भाषामा बोल्न सुरु गर्नेबित्तिकै ६० प्रतिशत मान्छे उठेर हिँड्न थाले । अहिलेको सिँचाइमन्त्री उमेश यादवजी कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो । उहाँले किरातीजी मधेशको मित्र र मधेशका लागि लड्ने व्यक्ति हुनुहुन्छ भनेर निकै बेर आग्रह गरेपछि बल्ल उनीहरु रोकिए । मन्तव्यको अन्त्यमा मैले परीक्षण गर्नका लागि भने कि नेपालकै एउटा सहर राजविराजका छोरीचेलीले उघार्नै पर्ने अंग पनि छोप्छन्, तर नेपालकै अर्को सहर धरानका चेलीहरुले छोप्नै पर्ने तिघ्रालाई छोटो कट्टु लगाएर उघार्छन् । यसलाई बराबरी कसरी बनाउने भनेपछि सबैजना हाँसे । मैले थाहा पाएँ उनीहरु नेपाली भाषा नबुझेर जान थालेका होइनन्, यो चैँ विद्रोह ग¥या हुन् । खसभाषा नेपालीविरुद्ध विद्रोह ग¥या हुन् । यही भाषाले जहिले पनि उत्पीडन गर्छ भन्ने किन सुन्ने यो भाषा भन्ने जनताको बोध थियो ।
नेपालका उत्पीडित समुदायका युवा पुस्तामा प्राज्ञिक चेतना छ । रघुनाथ ठाकुरको पराधिन मधेशको पीडालाई बुझ्ने मधेशमा पढेलेखेका युवा छन् । स्वतन्त्र मधेशको अभियानमा लाग्नुभएका डा. सीके राउतले आफ्नो विचार प्रकट गर्न पाउनुहुन्छ । तर उहाँजस्तो विद्वानले पहाडियाविरुद्ध जसरी गालीगलौजको भाषा बोल्नुहुन्छ, त्यो चैँ मिलेन । यसकारणले पहाडियाहरु उहाँप्रति बढी नै आक्रोशित छन् । उहाँ इटहरीमा पक्राउ पर्दा मैले फेसबुकमा पक्षपोषण गरे भनेर धेरैले मलाई राउतजीको छाउरा नै भए जस्तो टिपपणी गरे । सीके राउतले पहाडिया उत्पीडनविरुद्ध स्वतन्त्रताको खोजी गर्नु जायज छ । उहाँले अलिकति तरिका सच्चयाउनुपर्छ । अरु नेताहरुले साँच्चै मधेशको हित गर्ने हो भने महन्थ ठाकुर, उपेन्द्र यादव र विजय गच्छदारहरुले मधेश मुक्तिका लागि सार्वभौमसत्ता सम्पन्न स्वाधिन मधेशको अभियान चलाउनुपर्छ । स्वतन्त्र मधेश भएपछि स्वतन्त्र थारुवान हुन्छ । स्वतन्त्र ताम्सालिङ हुन्छ । स्वतन्त्र मगरात, तमुवान र लिम्बुवान हुन्छ । अनि भोलि हामी फेरि पनि जुटौंला ।
तर मधेशी नेताहरुले त मधेश र थरुहट प्रदेशको कुरा गर्दैछन् नि ?
मधेश प्रदेशको अब अर्थ छैन् अहिलेको बार्गेनिङको दुनियाँमा । कम्यूनिष्टहरुलाई साम्यवादभन्दै यत्तिको गणतन्त्र ल्याउनुपर्छ । स्वतन्त्रता र स्वाधिनता मागेपछि मात्र उनीहरुको मनको बाह्र बज्छ अनि स्वायत्तता ल्याउनुपर्छ ।
स्वाधिनताको कुरा गरेपछि राज्य दमन त अझ तीब्र हुन्छ नि ?
राज्यसत्ता लिन लड्नुप¥यो नि । तामीलहरुले कत्रो बगाबग गरे केही पनि पाएनन् । तर नेपालमा हामी उत्पीडित जनसँख्या ठूलो छ । यसलाई व्यस्थित, न्यायोचित र समन्वयकारी ढङ्गले बढाउनुपर्ने आवयकता छ । तामीलको १८ प्रतिशत जनसँख्या र सिँहालीको ८२ प्रतिशत जनसँख्या थियो । तर नेपालमा पहाडिया खसक्षेत्री १६ प्रतिशत र १२ प्रतिशत ब्राहम्ण भनिसकेपछि ७० प्रतिशतभन्दा बढी हामी उत्पीडित समुदायका छौं । जातिगत, भाषागत र क्षेत्रगतरुपमा उत्पीडितहरु र त्यसमाथि प्रगतिशील खसआर्यहरु छन् । जो चैँ उत्पीडितको पक्षमा उभिन्छन् । राज्यले नागरिकहरुलाई नागरिकता प्रमाणपत्रको थोत्रोकपी दिएर हुँदैन । सम्मान गर्नुपर्छ, न्याय दिनुपर्छ । न्याय, सम्मान र अधिकार नदिने देश र राज्य हजारौं टुकडा भए भन्ने पनि कम्यूनिष्टहरुलाई मतलब नहुने लेनिनले भन्नुभएको छ । त्यसैले पहाडिया अहङ्कारवादलाई ध्वस्त नपारिकन त मधेशीको हित हुँदैन । मधेशीको हित नभएर आदिबासी जनजातिको हित हुँदैन । कसैको उपनिवेश वा देश बन्ने कुराको म घोर विरोध गर्दछु । किनभने तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा भन्ने पहाडमा एउटा उखान छ , त्यो झन खराब छ ।
मधेशप्रतिको राज्यसत्ताको आशङ्कालाई कसरी लिनुहुन्छ ?
पहाडियाहरु शंका गर्छन् कि कतै मधेश इन्डियासँग मिल्छन् । इन्डियासँग मिल्न मधेश नाउँ होइन । इन्डियासँग मिल्न त मिथिलाञ्चल वा भाषाका आधारमा भोजपुरा र अवधि नै अनुकूल हुन्थ्यो । किनकी मिथिलाञ्चलको ठूलो हिस्सा बिहारमा छ र भारतमा भोजपुरी र अवधि बोल्नेहरु नेपालभन्दा धेरै सँख्यामा बढी छन् । हामी भारतमा होइनौं भनेर मधेश भनेका हुन् । मधेश त अहिलेसम्म नेपालमा मात्र छ । दार्जिलिङ र सिक्कीमका नेपालीभाषी र नेपालीमूलका मानिसहरु छन् जसलाई नेपालका पहाडी अहङ्कारवादी मानसिक्ता भएकाहरुले नेपाली भनिदिन्छन् । नेपालका मधेशीलाई विदेशी ठानिन्छ । यो चाहीँ पहाडिया राज्यसत्ताको चरम उत्पीडनको पराकाष्ठा हो ।
अब के हुन्छ त ?
थारु र मधेशीको मागलाई सम्बोधन गर्न काँगे्रस र एमालेले तदारुकताका साथ जिम्मेवारीपूर्वक तयार हुनुपर्छ । एकीकृत नेकपा माओवादीले पनि जोडदार पहल गर्नुपर्छ । यसो भएन भने नेपाल पाँच टुक्रामा विभाजित हुन्छ । पहाडिया अहङ्ककारवादीलाई देश टुक्रने भने भो तर यो हाम्रो लागि राष्ट्रिय मुक्ति(हाँसो) । कि त भित्र सन्तुलन व्यवस्थापन गर्नुपर्यो ।
तपाईंको पार्टीमा अहिले मन्त्रीहरुका विषयलाई लिएर निकै असन्तुष्टि चुलिएको छ नि ?
सरकारमा जानेबेलामा निकै छिनाझपटी भयो । स्थायी समितिभन्दा माथिका साथीहरुले असाध्यै लुँछाचुँडी गर्नुभयो । यस्तोमा त उहाँहरुलाई योग्यतापूर्ण ढंगले चलाइदिनु पर्ने हो नि । तर उहाँहरुमा जिम्मेवारीबोध भएन ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डसँग बिनासल्लाह, बिनाअनुमति र बिनास्वीकृति प्रचण्डका चारजना नातिनीहरलाई चीन पठाइ दिनुभयो भूकम्पग्रस्त क्षेत्रको अवलोकनका लागि । प्रचण्ड लेनिन हुनुहुन्छ, अझ हामीले बनाउन चाहन्छौं । तर उहाँका परिवारका अरु केही बाँदर छन् । चारजना नातिनीहरु बाँदर नै छन् । मलाई दुःख लागेको छ कि बाँदरको चरित्र व्यक्त गरेर बाँदर बनाउने काम शक्तिबहादुरले गर्नुभयो । यो राष्ट्रिय बेइज्जती हो । यसले पार्टी रुपान्तरण र पुनर्निर्माण हुनै नसक्ने अवस्थामा धकेलियो । त्यसैले शक्तिजीले नैतिकताका आधारमा राजिनामा दिनुपर्छ कि त पार्टीले फिर्ता बोलाउनुपर्छ ।
उहाँले आत्मालोचना गर्नुभयो नि ?
उहाँले पार्टीलाई महासंकटमा धकेल्नुभयो । यो क्षम्य हुँदैन । उहाँ प्रहरीको मन्त्री हुनुहुन्छ । कोही मान्छेले गल्ती ग¥यो । उसलाई प्रहरीले पक्रेर ल्यायो । मुद्दा हाल्यो । अनुसन्धान गर्यो । गल्ती भएछ भन्दैमा अभियुक्तलाई छोड्न मिल्दैन । गल्ती गर्नेलाई सजाय दिनैपर्छ । गणतन्त्रमा नियम मन्त्रीलाई पनि लाग्छ । त्यसैले प्रहरीको मन्त्रीलाई राजिनामा दिनु वा फिर्ता बोलाउनुको विकल्प छैन । यसले देशबासीलाई सुख र मधेश आन्दोलनमा पछिल्ला दिनमा हत्या गरिएका पाँचजनाको परिवारलाई राहत हुनेछ ।

%d bloggers like this: