Tuesday, May 22, 2018
Home > सामाज > भैरहवाको त्यो कालो दिन…..

भैरहवाको त्यो कालो दिन…..

r3 r r1 r3

रामविकास चौधरी
भैरहवा, २३ कार्तिक ÷भदौ ३ गतेकोे त्यो कालो दिन । दिउँसो करिब तीन बजेको बज्रघातिनी समय । बेलहियाबाट दुई जना घाइते बोकी भैरहवातर्फ आइरहेको एक बिरामी बाहनमा घरेलु हतियारसहितका केही युवाले आक्रामक प्रहार गरिरहेको त्यो भयावह दृश्य । स्वयम् यमराजले यमदण्ड र यमदूतसहित मधेशीको संहार गर्न आइपुगेको जस्तो भान हुने धुन्धकारिणी त्यो क्षण । मानौ, तिखो विषवाणबाट मधेश आत्माको भेदन गरिरहेको थियो ।
अर्धमुर्छित अवस्थाको घाइते बोकेको बिरामी बाहन चालक राकेश यादव भन्छन् ः ‘सडकभरि प्रहरीको पहरा थियो । ड्युटीमा रहेका प्रहरीकै अगाडि प्रहरी जस्तै देखिने सादा पोशाकका केही गैरमधेशी युवाले बिरामी बाहन रोक्न लगाए । बाहन रोक्दारोक्दै भयानक प्रहार सुरु भयो । करिब तीस पैंतिसको संख्यामा रहेका ती युवाले मलाइ समेत कुटपीट गरे । सो समूहमा केही स्थानीय युवा र ड्राइवर खलासीसमेत थिए । प्रहरीकै अगाडि वाहनसहित बिरामी कुटिदा प्रहरी रमिते थियो । कमल भन्ने एक स्थानीय ट्याक्सी चालक समेतले प्रहार गरिरहेको त्यो निर्मम दृश्य मेरा सामु ताजै छन् ।’ डण्डा नदी पार गरेपछि दरखसवा गाउँको भैरहवा–सुनौली सडक खण्डस्थित दुर्गा मन्दिर अगाडि सो घटना घटेको उनी बताउँछन् ।
‘आन्दोलनकारीसित शत्रुवत ब्यवहार गरिरहेका ती समूहले ‘म’ सँगै रहेका मेरा साथी रविकान्त उपाध्यायलाई गाडीबाट झारेर कुट्दै लखेटे । बाहनमा ठूलो क्षति पुर्याए । अर्धचेत रहेका दुर्गेश यादवलाई फलामे रड र खुकुरीले टाउकोमा घोपेर मरणासन्न तुल्याए । तिनको निर्मम प्रहारबाट उनी मरिसकेको सम्झेर आन्दोलनकारी मर्यो अब लैजा भन्दै गाडी अगाडि बढ्न अनुमति दिए ।’ त्यहाँबाट केही पर पुगेपछि भैरहवा बस बिसौनी अगाडि पनि उस्तै गरी घाइतेमाथि प्रहार भएको चालक यादवले बताए । उनकै पिटाइ र क्रुर प्रहारबाट दुर्गेशको मृत्यु भएको यादवको दाबी छ । उनी भन्छन् ः ‘बाच्ने आश छोडिएको थियो त्यो दिन तर भाग्यमा केही दिन अझ् बाँच्न लेखिएको थियो र बाँचियो ।’
‘सिद्धार्थ सेवा समाजको लु.१ च ३४६९ नंं.को सो एम्बुलेन्समा आन्दोलनका क्रममा भैरहवा र बेलहियामा राज्यद्वारा संरक्षित आन्दोलनका प्रतिकारमा उत्रेका समूहको प्रहारबाट घायल भएका दुर्गेश यादव र संदीप यादव रहेका थिए । बेलहिया घटनामा घाइते भई अर्धमुर्छित अवस्थामा रहेका दुर्गेश यादवको आग्रहमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फोन गरेर सो एम्बुलेन्स मगाएको थिए । उनले मगाएको सोही एम्बुलेन्स उनका लागि कालका गाल साबित भयो ।’ उपचारपछि संदीप त बाँचे तर दुर्गेश अब रहेनन्, उनले बताए ।
कुटिदँै भागेर ज्यान जोगाएका रविकान्त उपाध्याय भन्छन् ः ‘चालक राकेश यादवको आग्रहमा म बिरामी लिनुसँगै बेलहिया पुगेको थिएँ । त्यहाँ पुग्दा फोटो खिंचिरहेका एक पत्रकारले राष्ट्रघाती आन्दोलनकारीलाई मर्न दिनुपर्छ भन्दै थिए । सहयोगका लागि सँगै जान प्रहरीलाई आग्रह गर्दा एक प्रहरी अधिकृतले केही हुन्न लिएर जानुस, बाटोमा मारे मार्लान हामीले के गर्ने भन्दै हाँसेकोको त्यो कुटिल दृश्य मेरो मानसपटलबाट उड्न नपाउँदै आन्दोलनको प्रतिकारमा मृत्यु ताण्डव मच्चाइहेको एक टोली दरखसवा गाउँनजिकको दुर्गा मन्दिर छेउमा घेरि नै हाल्यो । खुकुरी फलामे रड र बाँसका भाठासहितका प्रतिकारीका भेषमा रहेका सो समुहले मधेशी आन्दोलनकारी बोक्नेलाई पनि मार्नु पर्छ भन्दै एकाएक प्रहार थाले । पहिला चालक र मलाई कुटे । पछि बिरामीलाई बाहिर निकालेर कुट्न थालेपछि म त्यहाँबाट उम्केर भागे । अगाडि जिल्ला प्रहरी कार्यालयको भ्यान उभिएको थियो । प्रहरीले त्यो भयानक दृश्य हेर्दै मुसुमुसु हाँसिरहेका थिए ।’ प्रहरीले नै प्रत्यक्ष सहयोगमा उनको हत्या गरेको उपाध्यायको आरोप छ ।
मधेश आन्दोलनको सातौ दिन भदौं दुई गते साँझ भैरहवाको बर्मेली टोल, बुद्ध चोकमा शान्तिपूर्ण अवस्थामा बसिरहेका आन्दोलनकारीलाई रुपन्देही प्रहरीले लाठा बर्साउदै दमन गरेको थियो । सोही दमनको प्रतिकार स्वरुप भदौं तीन गते गाउँ–गाउँबाट उठेर आएका मधेशी आन्दोलनकारीको भीडले आफ्नो आक्रामकता नदेखाउने कुरै भएन । सोही समूहमा कम्हरिया ३ का २८ वर्षीय आन्दोलनकारी दुर्गेश यादव पनि थिए । सो घटनामा प्रहरीकै प्रत्यक्ष संरक्षकत्वमा रहेका केही उत्छृङ्खल व्यक्तिले चार बढीको ज्यानै लिए । कैयनलाई अंगभंग बनाएको बताउँछन् प्रत्यक्षदर्शी जोगडा–८ का मोहम्मद इस्लाम ।
संयुक्त मधेशी मोर्चा र थरुहट संयक्त आन्दोलनको आठौं दिन भैरहवा रणभूमि जस्तै देखियो । निशस्त्र र निरबल मधेशी जनतामाथि प्रतिकारका भेषमा देखिएका केही सादा पोशाकका प्रहरी र आन्दोलनको प्रतिकारका उतारिएको समूहले खुकुरी र भाठा बर्षाउँदै दमनमा उत्रेको त्यो कारुणिक चित्कार मानव सभ्यताको विपरित देखिन्थ्यो । जनता र कानुनका रक्षक प्रहरी स्वयम्ले एउटा समुदायलाई मधेशी विरुद्ध जाइलाग्न उस्काउदै थिए । भैरहवामा ती समुहले हतियारसहित गरिरहेको त्यो ताण्डव दृश्य मानौ राक्षसी प्रबृत्ति हावी भई मधेशीको नरसंहार गरिरहेको थियो । सोही घटनामा घाइते भई उपचारका क्रममा ७ गते मृत्युवरण गरेका लुसनपा ३ का शैलेन्द्र श्रीवास्तले आफूलाई कुटने सादा पोशाकमा रहेकाहरु प्रहरी नै रहेको दाबी गरेका थिए ।
प्रतिकारका नाममा गरिएका प्रहरी दमनबाट सो दिन भैरहवामा चारको मृत्यु भएको पुष्टि भएको छ । दर्जनौ अंगभंग भई मृत्यु शैयामा जीवन मरणको दोसाँधमा पुगे । प्रहरी र प्रतिकार टोलीले कैयनलाई घाइते बनाई डण्डानदीमा फालेको कथा सुनाउदै सि.न.पा.१ बस्ने २५ वर्षीय बलराम यादव भन्छन् ः ‘लुम्बिनी साँस्कृतिक नगरपालिका–१० का सुनिल यादव, बोदवार–३ का रामेश्वर पासीलगायत दर्जनौंलाई खुकुरी घोपेर मरणासन्न बनाई डण्डा नदीमा फलिरहेको त्यो हृदयविदारक दृश्य कहिल्यै बिर्सिन सक्दिनन् । दुई चार भाठा सहँदैं ‘म’ नदीमा हाम फलेर पौडी खेली ज्यान जोगाएँ ।’
भदौ ३ गते दिउँसो करिब २ः३० बजे भएको बेलहिया घटनापछि भैरहवामा प्रहरीकै संरक्षणमा प्रतिकार गर्नेको हातियारसहितको क्रूर प्रदर्शनले राक्षस राज्यको भान भइरहेको व्यथा सुनाउँछन् कपिलवस्तु टिटहिरिया घर बताउने करिब २२ वर्षिय रउआब खान । उनी भन्छन् ः ‘त्यो दिन मारिनेमा अधिकांश वटुवा र सर्बसाधारण रहेका थिए ।’ त्यो दिन भारतबाट घर फर्किरहेका उनी पनि आतातायीको प्रहारका शिकार भए । ‘म निर्दोष, भारतबाट भैरहवातर्फ पैदल आइरहेका थिए । म दरखसवा गाउस्थित दुर्गा मंदिर नजिक पुगेपछि खुकुरी भाठासहितका केही उच्छृंखल व्यक्तिहरुले मलाई देशी भन्दै अश्लील गाली गर्दै खुकुरी घोपी घाइते बनाए । म मरे, मलाई बचाउनुस् भन्दै छटपटाइरहेका थिए तर कसैले उद्धार गर्ने साहस गरेनन् । म बेहोस भएँ । होस आउँदा आफूलाई मेडिकल कलेजमा पाएको उनले बताए ।
उनीसँगै भारतबाटै आउदै गरेका अर्का बटुवा लुम्बिनी साँस्कृतिक नगरपालिका १७ बस्ने करिब १५ वर्षीय अरमान खाँ त्यही ठाउँबाट भाग्दै ज्यान जोगाएको बताउँछन् । उनी भन्छन् ः ‘साथीलाई करुणाजनक अवस्थामा छटपटाइरहेको देखेर भाग्दै आँखा अस्पतालको पूर्व दरखसवा गाउकै एक मस्जिदमा लुकी डरले कामिरहेको थिएँ । त्यहाँका मधेशी समुदायले मलाई उद्धार गरेको हो । म भारत बस्ने आफ्नो आफ्न्त कहाँबाट आउदैछु, म आन्दोलनकारी होइन भन्दाभन्दै पनि हेल्मेट र लातमुक्काले पिट्दै खुकुरी प्रहार गर्न लागेको देखेपछि म त्यहाँबाट झन्नै ज्यान जोगाएर भागे ।’ उनले अनुहारमा लागेको दाम देखाउँदै भने, ‘मेरो टाउको र आँखामा गम्भीर चोट थियो ।’
सो दिन गाउँ गाउँबाट सदरमुकाम भैरहवा उत्रेका हजारौ मधेशी जनतालाई गरिएको दमनको शैली हेर्दा निरकुंश तानाशाहले नोकरमाथि गरिने दमन जस्तै देखिन्थ्यो । पेस्तोल, खुकुरी र भाठा बोकेका प्रतिकारका नाममा देखिएका ती समूहले मधेशीलाई खुलेआम मारकाट गरिरहँदा प्रहरी मुकदर्शक बनेको देखिन्थ्यो । प्रहरीसँगै रहेका प्रतिकार टोलीले सिद्धार्थनगर नगरपालिका–९ कठौतिया गाउँमा आफ्नै घरमा बसिरहेका तराई मधेश राष्ट्रिय अभियानका नेता प्रशान्त गुप्ताको हजुरबा करिब ७५ वर्षीय रामअधिन गुप्ताको टाउको र खुट्टामा खुकुरी घोप्नुका साथै मधेशी समुदायको घरघरमा पसी कुटपीट र दुव्र्यवहार गरेको नेपाल सद्भावना पार्टीका महासचिव हरिश्चन्द्र सिंह कुर्मी बताउँछन् ।
त्यसैगरी नेपाल सद्भावना पार्टी (युनाइटेड) का राष्ट्रिय अध्यक्ष एवम् पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको घरमा तोडफोड भएको छ । ‘मधेशी चोर देश छोड’ नारा लगाउँदै उनको घरमा ढुंगा बर्साइएको उनले बताएका छन् । उनी भन्छन् ः ‘हातहतियारसहित आएका गैरमधेशीको समुहले घरमाथि आक्रमण गर्दा आफूले रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकाललाई खबर गरेको तर प्रहरी प्रमुख ढकालले अहिले साम्प्रदायिक दंगा भड्केको अवस्थामा केही गर्न नमिल्ने बताए ।’
विभिन्न मागहरु राखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटको संयुक्त आन्दोलनमा होमिन पुगेका हजारौं जनताको अनियन्त्रित भीडले भैरहवास्थित सीटी हस्पिटल र विभिन्न होटेलका शीशाहरु तोडफोड र बैंक रोडमा दुईओटा मोटरसाइकल जलाउँदै भैरहवा भन्सार कार्यालय बन्द गराउन बेलहियातर्फ जाँदै गर्दा स्थिति भिडन्तको रुप लिएको हो । प्रतिकारमा देवकोटा चोकमा राखिएको दुई वटा टे«क्टर र दर्जनौं मोटरसाइकल जलाइएका छन् । युवा नेता सन्तोष पाण्डेको जीपसमेत आगजनी भएको छ । यसैगरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक रुपन्देहीको कार्यालयमा समेत तोडफोड भएको छ । करिब पचास साठीको संख्यामा रहेका प्रतिकार समूहले मधेशी र थारु बिरोधी नारा लगाउँदै प्रहरीको प्रत्यक्ष निगरानीमा मारकाट,तोडफोड र आगजनी गरेको नेता देबीप्रसाद चौधरीले बताएका छन् । सो समूहमा सादा पोशाकमा प्रहरीसमेत रहेको उनको दाबी छ ।
पछिल्ला दिनमा भैरहवा क्षेत्रमा अन्य तीनओटा मधेशीमूलका जस्तो देखिने शवहरु प्राप्त भएका छन् । ती शवहरुको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । ती शवहरु ३ गतेकै घटनामा मारिएकाहरुको हुन सक्ने सर्वसाधारणको अनुमान छ । घटनापछि निकै अक्रामक देखिएका मधेश आन्दोलनको प्रतिकार गर्नेहरुले खुकुरीलगायतका हतियार बोकी खुलेआम मान्छे मार्ने र कुटपीट गर्ने काम भइरहँदा प्रहरी मुकदर्शक र रमिते बन्नुले समेत प्रहरीको नियतिमाथि प्रश्न चिन्ह खडा हुन्छ । यता प्रतिकार समुहले हतियारसहित मधेश आन्दोलनका विरुद्धमा निषेधाज्ञा क्षेत्रभित्रै प्रदर्शन गरिरहँदा मुकदर्शक बनी सघाउने र उक्साउने प्रहरी स्वयमले आन्दोलनकारीका गाडी तोडफोड गर्ने र जलाउने गरेको घटनाका बखत खिंचिएको एक दृश्य देखाउँदै नेपाल प्रहरी र प्रशासनकै कारण जातीय दंगा हुनसक्ने आन्दोलनरत मधेशी मोर्चाका एक नेता एवम् तराई मधेश सद्भावना पार्टी रुपन्देहीका अध्यक्ष श्रीनिवास यादवको जिकीर छ ।
बेलहिया घटनाका प्रत्यक्षदर्शी एवम् जुलुसको नेतृत्व गरिरहेका युवा नेता संतोष पाण्डे भन्छन् ः ‘त्यो दिन भैरहवामा देखिएको विशाल जनसागर लिएर म करिब १ः३० बजे बेलहिया तिर निस्के । बुद्धचोकमा आन्दोलनकारीको भेषमा लुकेर रहेका केही उच्छृंल तत्वले अराजकता मच्चाएको देखेर हामी अनिष्टबाट जोगाउन त्यो जनसागर लिएर बेलहिया निस्केका थियौ । सो जुलुसमा बाहिरबाट ल्याई परिचालित गरिएका सादा पोशाकमा रातो टिशर्ट लगाएका केही प्रहरीको घुसपैठ थियो जुन हामीलाई पछि मात्र अवगत भयो । आन्दोलनका स्वयमसेवकका सराहनीय प्रयासबाट बाटोमा जुलुस एकदम शान्त र संयमित पनि देखिएको थियो । तर बेलहिया पुगेपछि लक्ष्मी मनी चेन्जर नजिक पहिलैदेखि ढुकेर बसेका निलो टिशर्टका प्रहरी र केही उच्छृंखल युवकहरुको समूहले हतियारसहित एक्कासी प्रहार गर्न थालेपछि घटनाले बीभत्स मोड लिएको हो ।’
आफूहरुकै भीडमा आन्दोलनकारीकै भेषमा रहेका रातो टीशर्टका प्रहरीले भैरहवामा आन्दोलनकारीको तर्फबाट तोडफोड गरेको नेता पाण्डेले बताएका छन् । बेलहिया पुगेपछि प्रहरीले आक्रमण गर्न लाग्दा तिनै रातो टी–शर्टधारी प्रहरीले आन्दोलनकारीलाई निरुत्साहित बनाउन पहिला भागेको दृश्य पनि आफूहरुसँग सुरक्षित रहेको उनी बताउँछन् । सबै घटना प्रहरीबाटै सुनियोजित र प्रहरीकै प्रत्यक्ष निर्देशनमा भएको उनको दाबी छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीका संयोजक एवम् संघीय समाजवादी फोरम रुपन्देहीका जिल्ला अध्यक्ष महेन्द्र यादवले घटनाका बखत छायाङ्कन गरिएको एक दृश्य देखाउँदै भन्छन् ः ‘प्रहरीले सो योजनालाई मूर्त रुप दिन दंगा प्रहरीका एक प्रहरी निरीक्षक जसको नाम खुल्न सकेको छैन्, लाई जिम्मा लगाएको थियो । घटनाको हेड कमाण्डिङ्ग प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले गरेका थिए ।’सो योजनामा काँग्रेस,एमालेलगायतका पार्टीआबद्ध मधेशीमूलका केही नेता समेतको हात रहेको उनको आरोप छ ।
घटनाका वखत घटनास्थल बेलहियास्थित लक्ष्मी मनी चेन्जरस्थित एक घरको छतमाथि रहेर सो प्रहरी निरीक्षकले सादा पोशाकमा घटनाको प्रत्यक्ष कमाडिङ्ग गरिरहेको दृश्यले समेत देखाउँछ । सो दृश्यमा घरको भुइँतलामा स्थानीय केही युवकहरु खुकुरी, फलामे रड र बाँसका भाठासहित रहेको देखिएका छन् । निलो टीशर्टमा रहेका प्रहरी पनि तिनीसँगै ढुकेर बसेको देखिएको छ ।
घटनाका वखत छायाङ्कन गरिएको सो दृश्य हेर्ने हो भने नारा जुलुस गर्दै अत्यन्त संयमित रही अगाडि बढिरहेको आन्दोलनकारीको जुलुसमा रातो टीशर्टमा प्रहरीजस्ता देखिने युवकहरु पनि व्यापक देखिएका छन् । आन्दोलनकारीको सो जुलुस प्रहरी निरीक्षकले योजनाबद्ध ढंगबाट पहिलैदेखि कुरिबसेको सोे घर अगाडि पुगेपछि आन्दोलनकारीसँगै नाराजुलुस गर्दै भैरहवाबाट आएका रातो टीशर्टका प्रहरीजस्ता देखिने केही युवा बाहिर निस्केर सर्वप्रथम अवरोध सुरु गरेका छन् । तत्पश्चात त्यहाँ उपस्थित निलो टिशर्टका प्रहरीले धावा बोलेका छन् । हतियारसहितका बर्दीधारी प्रहरीको संरक्षणमा तिनले आन्दोलनकारीलाई तितरबितर पार्दै पुनः सोही प्र.नि को सिट्ठीको आवाज सुनेर फर्केको दृश्य अत्यन्त योजनाबद्ध देखिन्छ ।
सदभावना पार्टीका केन्द्रिय सदस्य मनमोहन चौधरी भन्छन् ः ‘प्रहरीमा गैरमधेशी समुदायको एकाधिकार रहेकाले रुपन्देहीको शान्तिपूर्ण आन्दोलन अशान्त र आक्रामक बनेको हो ।’ सरकारकै निर्देशनमा सादा पोशाकमा प्रहरी परिचालन गराई भैरहवामा मधेशी समुदायको ठूलो जनधनको क्षति गराइएको उनको दाबी छ । नेता चौधरी भन्छन् ः ‘प्रहरीको क्रूर दमनबाट हामी आजित भएका छौ, अब आन्दोलन विद्रोहमा परिणत भएको छ । कुनै पनि शक्तिले आन्दोलन तुहाउन सक्दैन् ।’
यता रुपन्देहीका तत्कालीन प्रहरी प्रमुख राजेन्द्र ढकालले सो घटनामा प्रहरीको कुनै संलग्नता नरहेको बताउँछन् । प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले आफूले त्यो अनिष्टलाई जति टार्ने प्रयास गरेपनि असफल रहेको बताउँछन् । सो घटना आन्दोलनकारीकै उग्रताका करण भएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: