Tuesday, September 25, 2018
Home > विचार/अन्तर्वार्ता > उनीहरु चोरेर दिल्ली पुग्दैछन् : रामनरेश राय

उनीहरु चोरेर दिल्ली पुग्दैछन् : रामनरेश राय

हामी डंका पिटेर दिल्ली जान्छौं तर सरकारी प्रतिनिधिहरु चोरेर त्यहाँ पुग्छन् भन्ने दाबी गर्नुहुने तराईमधेश सदभावना पार्टीका सहअध्यक्ष एवं मोर्चाको वार्ता टोलीका सदस्य रामनरेश रायले सरकार, प्रतिपक्ष र मोर्चाबीच भइरहेको थप खुलासा गर्नुभयो । प्रस्तुत छ, उहाँसँगको कुराकानीको सारसंक्षेप ।

Ramnaresh g1
सरकारसँगको वार्ता निष्कर्षविहीन हुँदैछ त ?
हामी प्याकेजमै सहमति गर्ने पक्षमा छौं । हामीले प्रस्तुत गरेको एघारबुँदे मागमा सत्तारुढ प्रतिपक्षी दलले अहिलेसम्म समान धारणा बनाउन सकेका छैनन् । उहाँहरुको प्रष्ट धारणा आएपछि मात्र वार्ता फलदायी हुन्छ नि ।
वार्ताका लागि सरकारले पर्याप्त गृहकार्य नगरेको थाहा हुँदाहुँदै पनि तपाईहरु वार्तामा किन सहभागी हुनुभयो ?
हेर्नुस, सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गरेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै आएको छ । सरकारको गलत, भ्रामक र कपटी दुष्प्रचारलाई चिर्न पनि हामी वार्तामा गएका हौं । हामी समस्याको सही, उचित र शिघ्र समाधान होस भन्ने चाहेका छौं । तर सरकार समस्याको चुरो कुरामा प्रवेश गर्न नचाहेर देश र जनताप्रति अनुत्तरदायी भएको काम गरिरहेको छ ।
दिल्लीबाट मोर्चाका नेताहरु आउनेबित्तिकै वार्ता हुनुबाट त दिल्लीले नै वार्ता गराएको सन्देश प्रवाहित गरेको छ ?
हेर्नुस, समस्याको समाधान त वार्ताबाटै निकास निकाल्नु न हो । नेताहरुको दिल्ली भ्रमणले मधेश आन्दोलन र यसका मागहरुका बारेमा फिँजाइएका भ्रमहरुलाई स्पष्ट पार्न हो । भ्रमणले मधेशीहरुको मागबाट अन्तर्राष्ट्रिय जगत परिचित भएको छ र यसप्रति दुनियाँको संवेदनशीलता बढेको छ । भारत सधैँ समृद्ध र शान्त नेपाल चाहन्छ । भारतको चाहना सरकार र आन्दोलनकारी दुबै पक्ष गम्भीर भएर समस्याको समाधान खोजोस भन्ने नै हो । हाम्रो लडाइँ पनि आन्दोलनका मागलाई सरकारले सम्बोधन गरोस भन्ने नै हो । र, अर्को कुरा केही समययता आठपटक सरकारका प्रतिनिधि दिल्ली पुगिसकेका छन् । अहिले पनि सरकारी प्रतिनिधि दिल्लीमा छन् । फरक यत्ति मात्र हो, उनीहरु लुकीछिपी दिल्ली पुग्छन् र हामी डंका पिटेरै दिल्ली जान्छौ ।
वार्ता गरेर तत्काल निकास खोज्न तपाईहरुमाथि दिल्लीको ठूलो दबाब छ भनिन्छ नि ?
हेर्नुस, मधेश आन्दोलन नागरिक आन्दोलन हो । वर्षौदेखि विभेद र उत्पीडनमा पारिएका मधेशी, आदिबासी, थारु, दलितलगायत सीमान्तीकरण र बहिष्करणमा पारिएका सबैको आन्दोलन हो यो । हामीले संविधानमार्फत् हाम्रा हकअधिकारको सुनिचितता खोजेका छौं । हामीले यस्तो संविधान खोजेका छौं जसप्रति सबै समुदायको अपनत्व र ममत्व होस । त्यसैले समस्याको समाधान खोज्नुको विकल्प छैन ।
तपाईंहरुले त संविधानमा सुनिश्चित भइसकेका कुराहरु पनि नभएको भन्दै भ्रम छरिरहनुभएको छ नि ?
यस्ता अनर्गल कुराहरु आन्दोलन सुरु भएयता नै गरिदैँ आएको छ । हामीले प्रष्ट भनेका छौं, विगतको संविधानसभाको राज्यपुनर्संरचना समिति र राज्यपुनर्संरचना आयोगका प्रतिवेदनका आधारमा प्रदेशको सीमाङ्कन होस र अन्तरिम संविधानमा भएको नागरिकता संविधान प्रावधानलाई नै मौजूदा संविधानमा राखियोस भनेका छौं । जुन कुराप्रति सत्तारुढ दललगायत सकारात्मक देखिएका छैनन् । यसले नै प्रष्ट हुन्छ कि मधेशीहरुको हकअधिकारलाई कुन्ठित गर्ने गरी अहिलेको संविधान आएको हो ।
निष्कर्षमा नपुगिने तर वार्ता गर्दै जानुको अर्थ के त ?
सीमित समुदायका व्यक्तिहरुले देशमा शासन गरिरहेका छन् । अल्पसँख्यकहरुले बुहसँख्यकहरुमाथि । उनीहरुको नियतमा खोट छ । कुरा चिप्लो गर्ने तर मनमा बेइमानी । हामीले विगतमा सरकारसँग भएको आठबुँदे सहमतिलाई कार्यान्वयन गर्न र अन्तरिम संविधानकै प्रावधानहरुलाई समावेश गर्न माग गरेका छौं । तर शासकहरुले ती मागहरुलाई सम्बोधन गर्न चाहँदैनन् । समस्या यहीँनेर छ । हाम्रा मागहरुका आधार विगतका सहमति र सम्झौताहरु हुन् जसका लागि मधेशीहरुले पटकपटक आन्दोलन गरेका थिए र सहादत पनि प्राप्त गरे ।
अब के हुन्छ ?
सहमतिका लागि ठोस आधार र विश्वास तय नभए वार्ताको तुक हुँदैन । काँग्रेस, एमाले र एमाओवादीको नियत सफा छैन । आन्दोलनमा घाइते भएकाहरुको क्षतिपूर्ति र उपचार गराउने आफ्नो निर्णयसमेतलाई सरकारले कार्यान्वयन गरेको छैन । यसले नै बुझ्न सक्नुहुन्छ सरकारको नियत ।
तर आन्दोलनले त सर्वसाधारणहरु निकै सास्ती भोगिरहेका छन् ?
पलङमा सुतेर अधिकार पाइँदैन । दुनियाँको इतिहास साक्षी छ, हकअधिकारको लडाइँमा दुःख भोग्नुपर्छ । हामीलाई पनि दुःख भोग्ने निर्णयबाट हकअधिकारलाई सुनिश्चित गराउने कठोर विकल्प रोज्नुपरेको छ ।
आज फेरि पनि वार्ता हुँदैछ । विफल भयो भने तपाईहरुको कदम के हुन्छ ?
आन्देलनलाई अझ कडा बनाउने छौं , नाकाबन्दीलाई थप सशक्त बनाउँछौं । साथै खुल्ला सीमाबाट भइरहेको चुहावटलाई नियन्त्रित गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: