Sunday, June 24, 2018
Home > विचार/अन्तर्वार्ता > मुस्लिम गठबन्धन मधेशविरोधी शक्तिको चङ्गुलमा फस्यो : अकबाल अहमद

मुस्लिम गठबन्धन मधेशविरोधी शक्तिको चङ्गुलमा फस्यो : अकबाल अहमद

akwal ahamad
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग कार्यगत एकता नगर्ने राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनको निर्णय सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादी तथा मुख्य प्रतिपक्षी नेपाली काँगेसका दबाबमा आएको दाबी गर्ने तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद अकबाल अहमदले गठबन्धनको निर्णयले मधेश आन्दोलनको वेग नथामिने बताउनुभयो । उहाँसँग सञ्चारकका लागि लक्ष्मी चौधरीले कुरा गर्नुभयो । प्रस्तुत छ उहाँसँगको कुराकानीको संक्षेप ।
मुस्लिम गठबन्धन त मधेशी मोर्चासँग अलग भएको छ । यसले मधेश आन्दोलन कमजोर भयो, हैन त ?
राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन कुनै पार्टी होइन । यो संगठनमा मुस्लिम संगठनहरु आबद्ध छन् । यसको आफ्नो हैसियत भने छैन । काँग्रेस, एमाले र एमाओवादीका र ती पार्टीका भातृसंस्थाहरुका मुस्लिम नेताहरु गठबन्धनका संरक्षकका रुपमा रहँदैआएका छन् । ती पार्टीहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरुद्धमा काम गर्दै आइरहेका छन् । जसको प्रभाव गठबन्धनको निर्णयको रुपमा पनि देखिएको हो । गठबन्धन राजनीतिक संगठन होइन, यो एउटा धार्मिक संगठन हो । त्यसैले मोर्चाबाट अलग्गिने गठबन्धनको निर्णयले आन्दोलनमा कुनै फरक पर्दैन ।
तर आन्दोलनमा सहभागिता जनाउँदै आएको मुस्लिमहरुको साझा संगठने गठबन्धनको पछिल्लो निर्णयबाट आन्दोलनमा कुनै असर नपर्ने कुरालाई कसरी स्वीकार्न सकिन्छ ?
मोर्चा र गठबन्धनबीच एलायन्स हुनुअघिबाटै मोर्चाको आन्दोलन जारी थियो । जसमा विभिन्न मधेशवादी दलमा आबद्ध मुस्लिमहरुले सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दैआएका थिए । मधेशवादी दलका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुसमेतले आन्दोलनलाई तीब्र बनाउन सशक्त उपस्थिति जनाइरहेको बेला आन्दोलन उत्कर्षमा पु¥याउन आफ्नो पनि योगदान छ भनी जस लिनका लागि राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले मोर्चासँग आफैँ पहलकदमी गरेर एलायन्स गरेको हो । एउटा ब्यानरको भरमा भएको एलायन्सबाट उहाँहरु अलग्गिदैँमा आन्दोलनको मोर्चामा सङ्घर्षरत्त मुस्लिमहरु पछि हट्दैनन् । अझ आन्दोलन र आममुस्लिमको आवाज र संलग्नतामा भइरहेको छ । त्यसैले फेरि पनि भन्दैछु, गठबन्धनको अलगावले आन्दोलनमा रत्तिभर फरक पर्दैन । हो, यस विषयले काठमाडौंका मिडियामा गठबन्धनको हैसियत बढाएको छ । गठबन्धनको भूमिका काठमाडौंकै मिडियामा सीमित छ, ग्राउन्डमा यसको हैसियत छैन ।
गठबन्धनको नेतृत्वकर्ता त तपाईहरुकै पार्टी तमलोपाका केन्द्रीय सदस्य हुनुहुन्छ नि ?
हेर्नुस, एउटा व्यक्तिले संगठन चल्दैन । कुनै पनि पदाधिकारीभन्दा संगठनको निर्णयको अर्थ रहन्छ । हाम्रो पार्टीका शमीममियाँ अन्सारीजी गठबन्धनका संयोजक हुँदैमा गठबन्धनले उहाँकै सोचअनुसार निर्णय गरेको हो भन्न मिल्दैन । गठबन्धन त काँग्रेस, एमाले र एमाओवादी पार्टीका नीतिअनुसार अघि बढेको देखिएको छ । त्यसैले शमीमजी गठबन्धनका संयोजक हुनु र यस्तो निर्णय आएकोलाई जोडेर हेर्न सकिँदैन ।
तर गठबन्धनको निर्णय त तपाईहरुको लाइनविपरित आएको छ नि । यस्तोमा केन्द्रीय सदस्यसेत रहनुभएका शमीमजीको भूमिकाको लेखाजोखा गर्ने दबाब त तपाईहरुमाथि पर्नुपर्ने होइन र ?
गठबन्धनको निर्णय व्यक्तिगतरुपमा मैले संगठनको निर्णयको रुपमा लिएको छु । तर त्यस निर्णयमा शमीमजीको संलग्नताबारे पार्टीका नेतारुले अवश्य पनि विचार गर्नुहुन्छ ।
गठबन्धनले मधेशी मोर्चाबाट धोका भएको आरोप लगाएको छ नि ?
हेर्नुस मोर्चासँग एलायन्स गर्न गठबन्धन आफैँ आएको हो र गठबन्धन टुटाउने निर्णय पनि आफैँले गरेको हो । मोर्चाले धोका दिएको कुरा झूठो हो । गठबन्धनलाई मोर्चाका बैठक र सरकारसँगको वार्तामा बसाइएकै थियो । तर कुन यस्तो माग र स्वार्थ पुरा भएन जसले गर्दा गठबन्धन मोर्चाबाट अलग्गियो भन्ने कुरा त गठबन्धनकै व्यक्तिहरुलाई थाहा होलान ।
मोर्चाले त मुस्लिमहरुको मुद्दा नै छोड्यो भनिन्छ ?
यो नितान्त गलत र भ्रामक प्रचारबाजी गर्न खोजेको छ गठबन्धनले । मुस्लिम मात्र होइन, आदिबासी, जनजाति, थारु, दलित, पिछडावर्ग, सीमान्तकृतलगायत उत्पीडनमा परेका सबै समुदाय र जातजातिका मागहरुलाई मोर्चाले आफ्ना मागहमा समावेश गरेको छ । सबैका माग सम्बोधन हुने र सुनिश्चित हुने मोर्चाको आन्दोलन जारी छ ।
गठबन्धनले मानवीय संकटको कुरा गर्दै नाकाबाट आफ्ना कार्यकर्ताहरुलाई पछि हट्न आव्हान गरेको छ । यसले त प्रभावित हुन्छ नि आन्दोलन ?
नाकाबन्दीमा गठबन्धनको सहभागिता नै कहाँ थियो र ? एउटा ब्यानर राख्दैमा कुनै संगठनले नाकाबन्दी ग¥यो भन्ने हुँदैन । आम नेपाली मुस्लिमहरु अझ पनि नाकाबन्दी गर्न सीमामा अहोरात्र खटिरहेका छन् । यसैले गठबन्धनको आव्हानले कुनै अर्थ राख्दैन ।
तपाईंहरु त राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने र मानवीय संकट बढाउने काम गरिरहनुभएको छ भन्ने गठबन्धनको आरोप छ ?
योे आरोप गलत हो । आन्दोलन अहिँसात्मक र शान्तिपूर्ण ढङ्गले भल्दैछ । राज्यको क्रुरतापूर्ण दमनका बाबजूद पनि हामीले संयमता गुमाएका छैनौं । र राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र एकतामा आँच नआउने गरी आन्दोलनलाई अघि बढाइरहेका छौं । मैले सुरुमै भने गठबन्धनको विज्ञप्ति काँग्रेस, एमाले र एमाओवादीको सोचबाट प्रेरित छ ।

One thought on “मुस्लिम गठबन्धन मधेशविरोधी शक्तिको चङ्गुलमा फस्यो : अकबाल अहमद

  1. मुस्लिम गठबन्धन आन्दोलनबाट अलग्गिएको होइन
    १. सातवटा कारण देखाई राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन दुई दिनअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट अलग्गिएको हो । (हेर्नुहोस् : प्रेस विज्ञप्ती)
    प्रेस विज्ञप्तीको पूर्ण अंश :
    मिति : २०७२/०८/२२
    विषय : प्रेस विज्ञप्ती
    गत भाद्र ३ गते राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आठ बुंदे एक समझदारी पत्रमा दस्तखत भएर मुस्लिम गठबन्धनले एक घटकको रुपमा मधेशी मोर्चासँग सहकार्य गर्ने उद्घोष गर्यो । त्यसपछि गठबन्धनले मधेशी मोर्चामा एक घटकको हैसियतमा रही मधेश आन्दोलनमा हिस्सा लियो ।
    तर, आज निम्न कारणहरूले गर्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अलग्गिएको घोषणा गर्दछ :
    १. मधेशी मोर्चाले मुस्लिम गठबन्धनसँग भएको सहमति चरण चरणमा तोड्यो ।
    २. मोर्चाले सरकारी वार्ता टोलीसमक्ष प्रस्तुत गरेको ११ बुंदे माग पत्रमा मुस्लिम समुदायसँग सम्बन्धित गठबन्धनका विशेष मागहरूलाई नसमेटेर गठबन्धन र मुस्लिम समुदायलाई बेवास्ता गर्यो । सहमति अनुसार मोर्चाले गठबन्धनको मागलाई मोर्चाको आफ्नो माग बनाएको थियो ।
    ३. शुरुमा मोर्चाले सरकारसँग गरेको वार्तामा गठबन्धनको प्रतिनिधित्व गराएन जबकि दुवै पक्षबीच भएको सहमति अनुसार कुनै एक पक्ष एक्लै वार्तामा जानु हँुदैनथ्यो । पछि हामीले दबाव दिएपछि मात्र हामीलाई समावेश गराइएको थियो । र, पछिल्ला समयमा दुई–तीन पटक वार्तामा लगिएपनि उच्च स्तरीय नेताहरूसँग वार्ता हुँदा गठबन्धनको प्रतिनिधित्व गराइएन ।
    ४. मोर्चाका बैठकहरूमा गठबन्धनका पदाधिकारी÷हरूलाई संलग्न गराइएन । कुनै निर्णयमा हामीलाई संलग्न गराइएन । निर्णय लाद्ने काम मात्र भयो ।
    ५. मोर्चामा सहकार्य गरेका घटकहरूको संयुक्त विज्ञप्ती जारी गर्दा गठबन्धनको प्रतिनिधित्व गराइएन । मोर्चाका केही घटकहरू खुलस्त रुपमा मुस्लिम गठबन्धनको विपक्षमा देखिए ।
    ६. हामीले यी रबैयाहरू सच्याउन पटक पटक नेताहरूलाई अबगत गरायौं । हामीलाई बैठकमा यी कुराहरू राख्न दिनुपर्यो भनेर भन्यौं तर कहिल्यै सुनवाइ भएन; आनाकानी र आलटाल मात्र भइरह्यो ।
    ७. गठबन्धन मधेशमा शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको थियो र छ । हामी राष्ट्रिय स्वाधीनतालाई आँच पुग्ने गरी र मानवीय संकट निम्त्याउने गरी हुने कुनै पनि गतिविधिमा सामेल हुन सक्दैनौ ।
    मधेशी मोर्चाले प्रस्तुत गरेका ११ बुंदे मागपत्रका जायज कुराहरूलाई संविधान संशोधन गरेर सम्बोधन गरिनुपर्छ । मोर्चाका मागहरूप्रति हाम्रो विरोध छैन । मधेशलगायत उत्पीडन विरुद्धका सवै शान्तिपूर्ण आन्दोलनलाई हाम्रो समर्थन छ । हामीसँग गरिएको व्यवहार, कार्यशैली र हाम्रा मुद्दाहरू नसमेटिएपछि मोर्चामा हामी बस्नुको कुनै औचित्य नरहेकोले योे घोषणा गर्न हामी बाध्य भएका हौं ।
    राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले तुरुन्त आन्दोलनको आफ्नो कार्यक्रम घोषणा गर्नेछ । र, तत्काल जिल्ला गठबन्धनहरूले आवश्यकता अनुसार विरोधसभा र आन्दोलनका अन्य कार्यक्रमहरू गर्नेछन् ।
    मोहम्मद जाकिर हुसैन
    महासचिव
    ९८४९६१८१०३
    शमीम मियाँ अन्सारी
    संयोजक
    ९८५१०५९०७७
    २. मोर्चाबाट अलग्गिएपछि उसको विरुद्धमा निम्न प्रचारबाजी हुनसक्ने भएकोले संयमतापूर्वक बुद्धिमत्ता प्रयोग गरी मुस्लिम समुदायले आफ्नो अधिकारको लडाइ लड्नुपर्छ ।
    क. मुस्लिम आन्दोलनलाई धार्मिक आन्दोलनको संज्ञा दिएर यसको राजनीतिक महत्वलाई न्युन गर्ने प्रचार हुनसक्छ ।
    ख. मुस्लिम समुदाय र मुस्लिम गठबन्धनलाई मधेश विरोधीको रुपमा प्रस्तुत गरेर मुस्लिम समुदायको एक मात्र राजनीतिक प्लेटफर्मलाई कम्जोर तुल्याउँदै मुस्लिम समुदायको एकतामा फाटो ल्याउने प्रयास हुन सक्छ ।
    ग. मुस्लिम गठबन्धन र मुस्लिम समुदायलाई पहाडीपरस्त भएको र राज्य शक्तिसँग मिलोमतोमा रहेको आरोप लगाई हाम्रो एकतालाई खल्बल्याउने दुष्प्रयास हुन सक्छ । गठबन्धनका नेताहरुले राज्यपक्षसँग पैसा खायो भन्ने हौव्वा फिजाउन सक्छ ।
    घ. मुस्लिम समुदाय र मुस्लिम गठबन्धनलाई भारतविरोधीको रुपमा प्रचारबाजी गरी मुस्लिम समुदायको भारतसँगको बेटी–रोटीको सम्बन्धलाई प्रदुषित गर्ने दुष्प्रयास हुनसक्द ।
    ज्ञात रहोस् : मुस्लिम समुदाय मधेश आन्दोलन लगायत सवै प्रकारका उत्पीडनविरुद्धको आन्दोलनको समर्थन गर्दछ । ऊ मधेशी मोर्चाबाट केही कारण देखाएर बाहिरिएको हो । मधेशी मोर्चाले प्रस्तुत गरेका जायज मागहरुलाई उसले समर्थन गरेको छ । मधेशी मोर्चामा रहेर मात्र मधेशी आन्दोलन हुन्छ भन्ने मानसिकता सही होइन । मधेश आन्दोलन मधेशी मोर्चामा नरहेका अन्य दल र समूहहरुले पनि गरिरहेका छन् । मुस्लिम गठबन्धन मुस्लिम समुदायको राजनीतिक अधिकारको लागि संघर्ष गरिरहेको हो । ऊ धार्मिक आन्दोलनमा छैन । गठबन्धन स्थापनाको उद्देश्य नै राजनीतिक अधिकारको लागि संघर्ष गर्नु हो । गठबन्धन कुनै पनि अतिवादको समर्थन गर्दैन । गठबन्धन पहाडीयापरस्त होइन । मुसलमान मधेशमा पनि छ र पहाडमा पनि । ऊ उच्च पहाडीया अहंकारवादको विरोध गर्छ । र, मधेशको नाममा कसैले सोझा मधेशी जनताको शोषण गर्छ भने उसको विरुद्धमा पनि उसले आवाज उठाउँछ । ऊ एकात्मक शासन प्रणालीको विरुद्धमा छ । ऊ धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ । गठबन्धन राज्यपक्षबाट भएका सवै प्रकारका दमन र उत्पीडनको विरुद्धमा छ । मधेशी मोर्चासँगको हाम्रो आन्दोलनमा राज्यपक्षले मुस्लिममाथि पनि गोली चलायो, दमन गर्यो । राज्यपक्षसँग हाम्रो साँठगाँठ हुनै सक्दैन । नेपालमा ९५ प्रतिसत मुस्लिम मधेशमा बस्दछन् । र, भारतको दशगजा इलाकामा पूर्वदेखि पश्चिमसम्म प्रायः मुस्लिमहरुकै बस्ती छ । भारतसँग उनीहरुको सम्बन्ध बेटी–रोटीको छ । ऊ एक असल छिमेकी राष्ट्रको विरोधी हुनै सक्दैन । मधेशका मुसलमानहरु बोर्डरपारि आफ्नो दिदीबहिनी र हजुरआमाको घरमा बिहानको चिया खान पुग्छ । बोर्डरपरिका मुसलमान दतिवन गर्दै चिया खान आफ्नो हजुरआमा, दिदीबहिनीकहाँ पुग्छन् । यो समबन्धनलाई मुसलमानले कसरी तोड्न सक्छ ?
    २. मुस्लिम गठबन्धनले आन्दोलन छोडेको छैन । आन्दोलनको सम्बन्धमा उसको आफ्नो नीति छ । आफ्नो नीति अनुसार ऊ शान्तिपूर्ण आन्दोलनमा छ ।
    ३. गठबन्धनलाई राज्यपक्षबाट वार्ताको लागि पत्र प्राप्त भएको छ । ऊ वार्तामा बस्ने तयारी गर्दैछ । तर, उसले वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन रोक्दैन ।
    ४. गठबन्धनमा प्रायःजसो राजनीतिक दलका भातृसंगठनहरु छन्, अनेकौं विचार समूहका व्यक्ति र संघ–संस्थाहरु छन् । यसको सचिवालयको निर्णयले नै अहिलेसम्मका गतिविधिहरु हुँदै आएको हो । धेरै गन्थनमन्थनपछि हामीले मोर्चाबाट अलग्गिने निर्णय गरेका हौं । यो कुनै व्यक्ति विशेष वा पदाधिकारी विशेषको निर्णय होइन ।
    सवै किसिमका षडयन्त्र र भ्रमहरुबाट बच्न मुस्लिम समुदायलाई बिनम्र अनुरोध गर्दछ ।
    – मोहम्मद जाकिर हुसैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: