Sunday, February 18, 2018
Home > समाचार > गलत सम्झौता नगर्न मधेशीहरुको सुझाव

गलत सम्झौता नगर्न मधेशीहरुको सुझाव

राजविराज, २४ मंसिर । सप्तरीका राजनीतिक दलका नेता, पेशाकर्मी र बुद्धिजीविहरुले सिमांकन, मधेशको पहिचान, अधिकार र अवसरविरुद्व कुनै प्रकारको सम्झौता नगर्न मधेशी मोर्चाका शिर्ष नेताहरुलाई सल्लाह दिनुभएको छ । राजविराजमा आयोजना गरिएको ‘मधेशको एजेण्डा र सहमतिको प्रयास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँहरुले यस्तो सल्लाह दिनुभएको हो ।
विगत एक सय १६ दिनदेखि आन्दोलन जारी रहँदासमेत सरकारको तर्फबाट दुईओटा एजेण्डा मात्र अगाडि ल्याउनुले सरकार अझै गम्भीर बन्न नसकेको उहाँहरुले बताउनुभयो । उहाँहरुले आन्दोलनलाई जारी राख्दै कुनै पनि हालतमा उधारो सहमति गर्न नहुनेमा जोड दिनुभयो । तीन दल र मधेशी मोर्चाबीच सिमांकन भन्ने बुँदा जुङ्गाको लडाई भएकाले यसको परिवर्तनबिना कुनै सम्झौता भए मधेशीहरुको जुङ्गालाई झुकाउनेसरह भएकाले मधेशी दलका नेताहरुले सम्झौता गर्दा यसमा ख्याल राख्नसमेत उहाँहरुले आग्रह गर्नुभयो । कार्यक्रमका वक्ताहरुले संविधान पूर्णरुपमा त्रुटि रहेको बताउँदै सबै लाइनमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । मधेश आन्दोलनले मधेशीहरुको मात्र नभएर सबै उत्पीडित वर्गहरुको हक अधिकारहरु सुरक्षित हुने भएकाले उधारो सहमति गर्नै नपर्नेमा उहाँहरुकोे जोड थियो । मित्र राष्ट्र भारतको संविधान बनाउँदा कुनै पार्टी वा जातिको रुपमा नभएर सबै नागरिकका लागि बनाइएको बताउँदै उहाँहरुले नेपालमा जारी संविधान जनताको नभएर खसवादी सोचका व्यक्तिहरुको मात्र भएकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मधेशी मोर्चाले प्रस्तुत गरेको मागमा सिमांकनमा परिवर्तन र मधेशीको पहिचान, हक र अधिकारको सम्झौता नभएसम्म संवैधानिक ग्यारेन्टी नहुने भएकाले आन्दोलन जारी राख्न शिर्ष नेताहरुलाई वक्ताहरुले आग्रह गर्नुभयो । कतिपय वक्ताले भारतको संसदमा करणसिंहदेखि लिएर विदेश मन्त्री सुष्मा स्वराजसमेतले मधेशीलाई सहयोग गरिरहेको अवस्थामा खसवादी सोचका व्यक्तिहरुबाट सर्तक रहँदै आन्दोलन गरिरहनुपर्ने बताउनुभयो । अहिलेको आन्दोलन लामो हुनुको मुख्य कारण सत्तामा बसेका नेताहरुले मधेशको अधिकारलाई दबाउनका लागि प्रयास गरिरहेको अवस्थामा सतर्क भएर आन्दोलन गर्दै अधिकार लिएरै छाड्नुपर्ने उहाँहरुको धारणा छ ।
सरकारले मधेशीको आन्दोलनलाई दबाउन जस्तोसुकै प्रयास गरे पनि मधेशी जनताहरु उसको अगाडि नझुकेर आफ्नो अधिकार नलिएसम्म आन्दोलन जारी राख्नका लागि मधेशी दलका शिर्ष नेताहरुसँग उहाँहरुले आग्रह गर्नुभयो । वक्ताहरुले मधेशमा नै जन्मेर मधेशकै जनताको प्रतिनिधित्व गरेका तीन दलका नेता तथा साँसदहरुले मधेशीका सपूतहरुको घाँटी काट्ने काम पनि गरेको थप्नुभयो ।
कार्यक्रममा बौद्धिक समाजका जिल्ला अध्यक्ष अमरकान्त झा, नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष फुलेश्वर मण्डल, प्याब्सन सप्तरीका अध्यक्ष पंचदेव यादव, कर्मचारी हकहित संरक्षणका रामकुमार यादव, मधेशी निजामती कर्मचारी मञ्चका जिल्ला अध्यक्ष अजय झा, पत्रकार महासंघ सप्तरीका पूर्वसभापति धिरेन्द्र साह, मधेशी पत्रकार समाज नेपाल सप्तरीका अध्यक्ष शैलेन्द्र सिंह, शिक्षाविज्ञ विद्यानन्द झाले मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य रामनारायण यादव, मधेशी मोर्चाका नगर संयोजक उमेश साह, नेकपा माओवादी मातृका समूहका जिल्ला संयोजक जयप्रकाश यादव, तराई मधेश राष्ट्रिय अभियानका राजेन्द्र गुप्ता, स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष कमलेश्वर बिराजीसहितकाले मन्तव्य धारणा राख्नुभएको थियो ।
कार्यक्रम मधेशी मोर्चाका जिल्ला संयोजक सुनिल झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: