Wednesday, August 22, 2018
Home > कृषि/वन/वातावरण > मधेश मरुभूमिकरणको अन्तर्कथा

मधेश मरुभूमिकरणको अन्तर्कथा

लक्ष्मी चौधरी
यो नेपालको दक्षिणी भेगमा पर्ने समथर भूभाग हो । तराईमधेशको सम्म परेको यस मैदानी भागबाट उत्तरतर्फ देखिने अग्लोहोचो उभारलाई चुरे पर्वत भनिन्छ । हिमालयको तल्लो भागको महाभारत पहाडबाट दक्षिणतर्फ होचो देखिने अन्तिम यस पर्वतीय क्षेत्रलाई बोलीचालीको भाषामा चुरिया पहाड पनि भनिन्छ ।
खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको चुरे पर्वतश्रृंखला पूर्वदेखि पश्चिम नेपालसम्मको ३६ जिल्लामा फैलिएको छ । करिब एकहजार पाँच सय मीटर उचाइँसम्म रहेको यस पर्वतको दक्षिणी भागतिर पसारिदैँ गएको भिरालो भूभागलाई भावर भनिन्छ । उत्तरबाट दक्षिण भूभागसम्म बग्ने नदीहरुले बगाएर ल्याएको ढुङ्गा, गिट्टी, वालुवा र कंकडले बनेको भावर क्षेत्र दक्षिण समथर तराईका लागि जलसञ्चििति र नबकिरणीय गर्ने दृष्टिले पनि महत्वपूर्ण छ । तुलनात्मकरुपमा सबैभन्दा कान्छो र ढुङ्गोमाटोले बनेको कमलो पहाड चुरेलाई पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ ।
पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको बह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १८ लाख ८६ हजार क्षेत्रफल ओगटेको छ । जुन करिब देशको १३ प्रतिशत भूभाग हो । भूगोलविद्हरुका अनुसार करिब चार वर्ष करोडअघि हिमालय उत्पतीका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्रको निर्माण भएको हो ।chure photo
भिरालो जमीन, पहाड र खोल्साखोल्सीको भूबनौट भएको चुरिया क्षेत्र ढुङ्गा,गिट्टी,वालुवा,कंकड तथा खुकुलो र खस्रो माटोबाट बनेकोले यसको धरातल अत्यन्त कमजोर रहेको छ । वनजङ्गलका लागि अनुकूल भौगौलिक बनाबट रहेकोले यस क्षेत्रमा देशकै कूल ७६ प्रतिशत वनक्षेत्र रहेको छ । देशको २२ प्रतिशत बनस्पतीहरु पाइने यस ठाउँमा विभिन्न प्रकारका तथा दूर्लभ वन्यजन्तुसमेतको प्राकृतिक बासस्थान समेत रहेको छ ।
नेपालका अन्य पहाडहरुभन्दा होचो यो कान्छो पहाड समुन्द्री सतहभन्दा नजिक छ । यसरी समुन्द्री सतहबाट नजिक हुनुले मानसुनी वायुको कारण अन्य पर्वतभन्दा अत्याधिक वर्षा हुने क्षेत्र पनि हो यो । वर्षातको पानीलाई यस क्षेत्रको खुकुलो र खस्रो सतहले सजिलै सोस्ने गरेको हुँदा पनि यसलाई जलभण्डारणको उपयुतm स्थलको रुपमा चित्रित गरिन्छ ।
केही समययता भने चुरे क्षेत्रमा भइरहेको अतिक्रमण र स्रोतमाथिको अत्याधिक दोहनले गर्दा यस क्षेत्रको पारिस्थितिकीय प्रणालीमा गम्भीर असर परेको छ । चुरे क्षेत्रमा तीन दशकयता भएको तीब्र बस्ती विकास र यसको प्रतिफलको रुपमा जनसँख्याको बढ्दो चाप, तीब्रतर हुँदैगएको वनविनास, वनक्षेत्र अतिक्रमण, चरिचरण आदिले गर्दा यस क्षेत्रमा ठूलो पर्यावरणीय संकट उत्पन्न भएको छ । जसको प्रत्यक्ष मारमा तराईमधेश परेको छ ।
नेपालको सबैभन्दा घना जङ्गल रहेको यस क्षेत्रमा भएको अनियन्त्रित वनविनास र अनुचित मानवीय क्रियाकलापका कारण चुरेका डाडाहरु नाङ्गिएका छन् । खोरिया फाँडेर गरिएको खेतीपाती र डढेलोसँगै वनजन्य चीजबीजहरु अनियोजित तरिकाले सखाप पारिँदा यो क्षेत्र झण्डै उजाड भएको छ । सिङ्गो चुरे श्रृंखला अहिले पहिरो र भूक्षयबाट गुज्रिरहेको छ । पानीका स्थानीय स्रोतहरु सुकेका छन् भने भएका स्रोतहरु प्नि संकटान्मुख छन् । यस श्रृंखला भएर बग्ने नदीहरुले वर्षायाममा विध्वंशकारी उपद्रो गर्छन् र केही बेरमै शान्त हुन्छन् । वर्षाको पानी बगेर गएपछि सुख्खामा परिणत हुने खोलाहरुको सँख्या धेरै छ । स्थानीय खोलानालाहरुमा पानी नभएकोले पनि चुरे क्षेत्रको दक्षिणी मैदानी भागमा सिँचाइको समस्या चुलिदैँ गएको छ । सिँचाइको अभावमा तराईमधेशका कृषकहरुलाई आकाशेखेतीको भर पर्नुपरेको छ । चुरेक्षेत्रकै पर्यावरणीय असन्तुलनले अहिले तराईमधेशमा आकाशेखेतीको भर परेका कृषकहरुलाई अतिबृष्टि तथा अनाबृष्टिको चपेटामा पर्नुपरेको छ ।
चुरे क्षेत्रको विनासका एउटा अर्को कारण यस क्षेत्रबाट अवैध, अव्यवस्थित र अवैज्ञानिक तरिकाले गरिने ढङ्गा, गिट्टी र वालुवाको उत्खनन पनि हो । यसले गर्दा ढुङ्गा, गेग्रान र खुकुलोखस्रो माटोबाट बनेको चुरे पहाडको क्षय भइरहेको छ । र, अन्ततः यसले आपदा निम्त्याउने गर्दछ ।
चुरेक्षेत्रमा भइरहेको वनफँडानी, ढुङ्गा, गिट्टी र वालुवाको उत्खनन आदिले नदीहरुका चौडाइलाई बढाएको छ । कमजोर हुँदै गएको चुरेको संरचनाले गर्दा नदीबाट बगेर जाने ढुङ्गा, गिट्टी, वालुवा र माटोले गर्दा तराई मधेशमा कटान, भसान र पटानको समस्या देखिएको छ । माथिल्लो भेगमा पहिरो जाँदा र कटान हुँदा ढुङ्गा, गिट्टी, वालुवा र माटो भने खहरे खोलाको भेलसँगै चुरेभन्दा दक्षिण र नेपालभारत सीमाभन्दा उत्तरको मध्यभागस्थित नदीहरुमा थेग्रिने गर्दछ । जसले गर्दा कटान हुँदै खोलाको चौडाइ बढ्ने र नदीको वालुवामिश्रित पानी चुहिएर उर्वर जमीन मरुभूमिमा परिणत भइरहेको छ । सीमावर्ती भारतीय क्षेत्रभन्दा वर भने सग्लो पानी मात्र प्रवाह हुँदा नदीहरु साँघुरो संरचनाभित्रै गहिरिएका छन् । जसले गर्दा वर्षायाममा यस क्षेत्रका थुप्रा गाउँहरु टापुमा परिणत हुने गर्दछन् ।
चुरे क्षेत्रको विनासले कटानसँगै नदीको प्रवाह परिवर्तन हुने स्थिति समस्या पनि रहेको छ । नदीको पानीले बाटो परिवर्तन गर्दा उर्बर जग्गा बलौटे हुनुका साथै मानवबस्तीहरुसमेत विस्थापित भएका छन् ।
विज्ञहरुका अनुसार, अहिलेकै अनुपातमा चुरे क्षेत्रको विनास भइरहने हो भने आगामी २१ देखि ३१ वर्षभित्र चुरे प्रभावित क्षेत्र मरुभूमिमा परिणत भइसक्ने छ । यसले कृषिमा आधारित तराईमधेशको जनजीविका मात्र संकटमा पर्ने होइन परिणामस्वरुप सिङ्गो तराईमधेशको अस्तित्व नै संकटमा पर्ने निश्चित छ ।
सामाजिक, आर्थिक र पर्यावरणीय दृष्टिले निकै महत्वपूर्ण मानिने चुरेक्षेत्रको संरक्षण गर्ने कार्यलाई चुनौतिपूर्ण मानिदैँ आएको छ । मानवीय गतिविधिले गर्दा थप संवेदनशील बन्दै गएको यस क्षेत्रलाई जोगाउन यस क्षेत्रको संरक्षण तथा दिगो व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: