Tuesday, December 11, 2018
Home > यादवको सास्तीले आलम भोकै

यादवको सास्तीले आलम भोकै

R congress 1
सञ्चारक
क्रियाशील सदस्यताको आवेदनपत्र वितरणमा धाँधली भएको आरोप लगाउँदै नेपाली काँग्रेस रौतहटका कार्यकर्ताहरुले गत एघार दिनदेखि थालेको रिले अनसन पार्टी मुख्यालय सानेपामा जारी छ । पार्टी पदाधिकारीहरुले सोधखोज गरेर समस्या समाधानका लागि पहल नगरेकाले अनसनलाई जारी राख्नुपरेको अनसनकारीहरुले बताएका छन् ।
रौतहट काँग्रेसका सभापति कृष्ण यादवले क्रियाशील सदस्यताको आवेदन फारमलाई आफ्नो अनुकूलता र सुविधाअनुसार जथाभावी बाँडेको भन्दै काँग्रेसका केन्द्रीय सदस्य मो. आफताब आलमपक्षधर स्थानीय कार्यकर्ताहरुले अनसनलाई निरन्तरता दिएका हुन् । दुई चिरामा विभाजित रौतहट काँग्रेसका सभापतिमा शेरबहादुर देउवानिकट कृष्ण यादव विजयी भएपछि केही वर्षयता पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य आलमपक्षधर समूहबीच पार्टीमा प्रभुत्व जमाउने विषयमा चर्को विवाद रहँदैआएको छ ।
पार्टीको अघिल्लो जिल्ला अधिवेशनबाट जालझेल गरी यादव सभापतिमा निर्वाचित हुँदैआएको आरोप लगाउने गरेका आलमपक्षधरहरुले गत १० महिनायता क्रियाशील सदस्यताको आवेदनपत्र वितरणमा अनियमितता भएको दाबी गर्दैाएका छन् ।
पार्टी केन्द्रीय सदस्य आलमले निर्धारित प्रावधान र प्रक्रियाविपरित जिल्लामा क्रियाशील सदस्यताको आवेदनपत्र वितरण भएको र त्यसलाई सच्चाउन दबाव बनाउन रिले अनसन भइरहेको बताउनुभयो । उहाँले आवदेदनपत्रलाई पार्टीका जिल्ला सभापतिले क्षेत्रीय सभापतिलाई दिनुपर्ने र क्षेत्रीय सभापतिले इकाइ सभापतिलाई दिएर बृहत्त छलफल भई मात्र वितरण हुनुपर्ने प्रक्रिया मिचिएको आरोप लगाउनुभयो ।
आलमका अनुसार जिल्लाका निर्वाचन क्षेत्रहरु १, २, ३ र ४ मा आवेदनपत्र सीधा वितरण गरिएको छ । क्षेत्र नं. ५ मा सभापतिको निधन भइरहेको र कर्यसमिति नरहेको तथा क्षेत्र नं. ६ मा समेत आवेदनपत्र वितरणमा मनोमानी भएको छ । जिल्लामा कूल एकाइस सयजनालाई क्रियाशील सदस्यताको आवेदनपत्र दिइएको छ ।
उहाँले यस विषयमा पार्टीको आगामी पुस २६ गते हुने केन्द्रीय समितिको बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
पार्टी मुख्यालय सानेपामा अन्य केही जिल्लाका पार्टी कार्यकर्ताहरुले आवेदनपत्र वितरणमा भएको अनियमितताका विषयमा पार्टी नेतृत्वको ध्यानाकृष्ट गराउन रिले अनसन गरिरहेका छन् ।